केही समयअघि कपालमा लगाउने एउटा तेलले आक्रामक मार्केटिङ गर्दै बजारमा प्रवेश गर्यो । कलाकारदेखि लिएर सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका व्यक्तिहरुले पनि यो तेल इन्डोर्स गरे । आकर्षक प्याकेजिङका साथ बजारमा आएको यो तेलले छोटो समयमै बजारमा हल्लाखल्ला मच्चायो ।
तर यो चमकधमक धेरै समय टिकेन । कपाल नझर्ने, झरेको भए उम्रिने, फुलेको भए कालो हुने, चाया हटाउने आदि अनेक दाबी गरिएको यो तेल महँगोमा किनेका प्रयोगकर्ता अहिले पछुताइरहेका छन् । किनकी दाबी गरिए अनुसार यसले काम गरेन । उत्पादक कम्पनीले श्रीकेश तेल ल्याब परीक्षणबाट प्रमाणित भएको दाबी गर्दै आएको छ ।
अझ चाखलाग्दो कुरा त कपाल उम्रिने लगायत पाँच वटा दाबी गरेर चर्को मूल्यमा बिक्री भइरहेको तेलको गुणस्तर पानी जाँच गर्ने ल्याबमा हुँदो रहेछ । रातोपुलमा रहेको वाटर इन्जिनियरिङ एन्ड ट्रेनिङ सेन्टर नामको निजी ल्याबमा यो तेलको परीक्षण गरिएको कम्पनीले नै जानकारी दिएको छ । कपालमा लगाउने तेलको परीक्षण पानीको प्यारामिटरमा गरिएको छ ।
श्रीकेशको डब्बामा राखिएको आइएसओ र जीएमपी प्रमाणपत्र पनि नक्कली भेटिएको छ । उपभोक्ता झुक्याउनका लागिमात्र आईएसओ र जीएमपीको लोगो राखेको पाइएको छ । यसैगरी तीन वटा सरकारी निकायबाट प्राप्त व्यापार अनुमतिपत्रमा कतै खुद्रा सामान बेच्ने भनिएको छ त कतै प्याकेजिङ गर्ने भनिएको छ त कतै अर्कै कुरा लेखिएको छ ।
कम्पनीले आफ्नो विज्ञापनमा भनेजस्तो विभिन्न जिल्लाबाट जडिबुटी संकलन गरी काठमाडौंमा ल्याएर प्रशोधन गरी तेल उत्पादन गर्ने कुरा कतै लेखिएको छैन । आक्रामक विज्ञापनका कारण तेल खरिद गरेका उपभोक्ता भन्न थालेका छन्, ‘यो त नक्कली परेछ ।’ कपाल उम्रिएको, कालो भएको कसैले बताएका छैनन् । यही तेलको विज्ञापन गरेका एक कमेडियनले त झन् कपाल प्रत्यारोपण नै गरेको भिडियो सार्वजनिक गरेका छन् ।
श्रीकेशले कपाल उमार्ने भए उनले लाखौं खर्च गरेर प्रत्यारोपण गर्ने थिएनन् होला । तेल उत्पादक कम्पनी सप्तऋषि आयुर्वेदले श्रीकेश तेल ३२ वटा जडीबुटी प्रयोग गरेर बनाइएको दाबी गरेको छ र ४१० एमएल तेलको मूल्य ३ हजार रुपैयाँ राखेको छ । पूर्व युवराज्ञी हिमानी शाह, सिनियर कलाकारदेखि पूर्व राष्ट्रपति हुँदै प्रधानमन्त्रीसम्मको हातमा देखिएको यो तेल सम्बन्धित निकायबाट उत्पादन अनुमति समेत नलिई विक्री भइरहेको पाइएको छ ।
स्रोतका अनुसार तुल उत्पादक सप्तऋषि आयुर्वेद औषधी व्यवस्था विभाग र आयुर्वेद विभागमा दर्ता नै छैन । आयुर्वेद चिकित्सा परिषद् ऐन २०४५ (तेस्रो संशोधन २०७४) अनुसार आयुर्वेद चिकित्सा व्यवसाय दर्ता नभएका चिकित्सकले मात्र गर्न पाउँछन् । सप्तऋषि आयुर्वेदका सञ्चालक टीका बुढाथोकी चिकित्सक होइनन् । तर, उनले आयुर्वेद चिकित्साको उत्पादन भन्दै श्रीकेश तेल बिक्री गर्दै आइरहेका छन् ।
यो तेल खरिद गर्दा ग्राहकले भ्याट बिलसमेत पाउँदैनन् । विभिन्न कम्पनीको नाममा प्यान बिल दिइन्छ । बुढाथोकीको ट्रयाक रेकर्ड पनि राम्रो छैन । यसअघि पनि विभिन्न रोग ठीक पारिदिने भन्दै भ्रम फैलाएर औषधी बिक्री गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी परेको थियो । तर, उनी कारबाहीबाट भाग्दै आएका छन् । केही वर्षअघि उनले जडिबुटी भन्दै काठको धुलो बिक्री गरेको भेटिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं