सूचनाको शक्ति - The Power Of Information

        

जसपाको एकता महाधिवेशन

महाधिवेशन एकाएक रोकिएपछि उम्मेदवारी दिएकाहरु जिल्ल

आफू अध्यक्षमा सर्वसम्मत भएपछि उपेन्द्र यादवले एकाएक किन रोके महाधिवेशन ?

जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता महाधिवेशन

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू अध्यक्षमा सर्वसम्मत भएपछि महाधिवेशन नै रोेकेका छन् । जेठ २८ गते जनकपुरमा सुरु भएको जसपाको एकता महाधिवेशनमा पदाधिकारी चयन नगरी काठमाडौँमा फर्केर तोक्ने निष्कर्षमा उपेन्द्र पुगेका छन् ।

यही कारण उनले १९ पदाधिकारीसहित २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छैनन् । महाधिवेशनको तेस्रो दिन जेठ ३० गते उपेन्द्र यादव पुनः सर्वसम्मत अध्यक्ष चयन भएपछि बिहीबार अन्य सदस्य र पदाधिकारीका लागि मतदान हुने भनिएको थियो । मतदानका लागि समयसमेत तोकिएको थियो । तर, अध्यक्ष यादवले आफू अनुकुल पदाधिकारी चयन गर्ने हेतुले निर्वाचन प्रक्रिया रोकेका हुन् ।

महाधिवेशनको पूर्वनिर्धारित कार्यक्रमहरु रोकेपछि पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरु जिल्ल परेका छन् । आफू अध्यक्ष चुनिइसकेपछि बाँकी पदमा यादवले अन्य पदाधिकारी पनि सर्वसम्मत चुन्ने निर्णयमा पुगेका हुन् । पार्टीका नेताहरुका अनुसार अध्यक्ष यादवले सहअध्यक्षमा रकम चेम्जोङलाई अघि सार्ने भएका छन् ।

चेम्जोङ अशोक राईसँगै एकतामार्फत यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा जोडिएका नेता हुन् । तर, राईले साथ छाडे पनि चेम्जोङले यादवको साथ छाडेका थिएनन् । त्यसैले यादवले चेम्जोङलाई साथ दिने नेताहरूको भनाइ छ । सहअध्यक्षका अन्य आकांक्षी सबै तराई/मधेसबाटै प्रतिनिधित्व गर्ने हुनाले पहाडको जनमत आकर्षित गर्न पनि चेम्जोङलाई ल्याउनुपर्ने बाध्यता रहेको तर्क ती नेताको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव

यस्तै, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत र राजकिशोर यादव पनि सहअध्यक्षको दौडमा छन् । तर, चेम्जोङका प्रतिस्पर्धी लालबाबु राउत अध्यक्ष यादवका सबैभन्दा निकट नेता मानिन्छन् । उनको र राजकिशोर यादवको मधेसमा पकड बलियो भएकाले यी दुई जनालाई उपेन्द्रले कसरी सहमतिमा ल्याउँछन्, त्यो केही दिनमै थाहा हुनेछ ।

महासचिवमा भने विजय यादव र मनीष सुमन बलिया प्रतिस्पर्धी हुन् । विजय यादवले पछिल्ला दिनमा प्रतिनिधिबीच पकड राम्रो बनाएका छन् । सुमन मधेस प्रदेशका सांसद हुन् । पछिल्लो दिन जसपा नेपालको प्रवक्ताको जिम्मेवारीमा रहेकाले उनले प्रतिनिधिसँग राम्रो सम्पर्क बढाएका छन् । दुई महासचिवका लागि आकांक्षी भने ६ जना छन् ।

बोमबहादुर दर्लामी मगर (आदिवासी), रामकुमार शर्मा, विजयकुमार यादव, दीपक कार्की, मनीषकुमार सुमन र अशोककुमार यादव अध्यक्षलाई फकाएर आफू पदमा पुग्ने दौडधुपमा छन् । कोषाध्यक्षमा सञ्जयकुमार यादवलाई अघि सार्ने अनुमान प्रतिनिधिबीच चलेको छ । तर, निर्माण व्यवसायीसमेत रहेका बलराम महतो र रेणुकुमारी यादव पनि लाइनमा छन् ।

जेठ २९ गते जसपाले विधान संशोधन गर्दै संघीय परिषद् अध्यक्ष रहने व्यवस्था हटाएर एक सहअध्यक्ष, दुई महासचिव राख्ने प्रबन्ध गरेको हो । जसपा नेपालको अध्यक्षबाहेकका २० पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए । यस्तै, पाँच जना उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको थियो । महाधिवेशन स्थल धनुषामा प्रतिनिधिसँग उम्मेदवारहरू मत मागिरहेका बेला एकाएक चुनावी प्रक्रिया नै स्थगन गरिएको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १०:२९

लोकप्रिय