बाँकेको विकट भनेर चिनिने बघौडा क्षेत्र हो । बघौडा भन्ने वित्तिकै यस क्षेत्रभन्दा बाहिरका मानिरको मस्तिष्कमा सबैभन्दा पिछडिएको क्षेत्र, राप्ती नदीपारिको क्षेत्र, शिक्षा स्वास्थ्य भौतिक पूर्वाधारको अभाव भएको क्षेत्र जस्ता कुराहरु कमी भएको क्षेत्रको रुपमा आउँछ । हो, यही पिछडिएको क्षेत्रमा अब्बल काम गर्ने पूरानो स्वास्थ्य चौकीका रुपमा रहेको छ, ‘गंगापुर स्वास्थ्य चौकी’ ।
हालको नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही वडाहरुमध्ये सबैभन्दा पुरानो बि.सं.२०२८ सालमा स्थापना भएको स्वास्थ्य चौकी हो । ‘गंगापुर स्वास्थ्य चौकी’ साविक गंगापुर गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हाल नरैनापुर गाउँपालिका वडा नं. ६ मा रहेको छ । भौतिक पूर्वाधारले नरैनापुर गाउँपालिकाका अन्य स्वास्थ्य चौकीभन्दा सम्पन्न मानिएको यस स्वास्थ्य चौकीले यस क्षेत्रका जनताको स्वास्थ्य हेरचाहमा उल्लेखनीय योगदान पुर्याएको देखिन्छ ।
आर्थिक वर्ष २०७१–०७२ मा तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेबाट जिल्लाभरिका स्वास्थ्य संस्थामध्ये कार्य सम्पादन मुल्यांकनका आधारमा जिल्ला प्रथम भई प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरेको थियो । यस स्वास्थ्य चौकीले आर्थिक बर्ष २०७९–०८० मा न्यूनतम सेवा मापनमा नरैनापुर गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमध्ये सबैभन्दा धेरै ७६ अंक प्राप्त गरी जिल्ला स्वास्थ्य कार्यालय बाँकेबाट व्यवस्थापन समितिलाई न्यूनतम सेवा मापनका विषयमा अभिमुखिकरण तालिम पनि प्राप्त भयो ।
स्वास्थ्य चौकीले आर्थिक बर्ष २०७९–०८० मा उल्लेखनिय नमूना कार्य गरिरहेको छ भने धेरैभन्दा धेरै नागरिक लाभान्वित भएका छन् । स्वास्थ्य चौकीमा रहेको प्रसुति गृह (बर्थिङ्ग सेन्टर) बाट २४ सैं घण्टा गर्भवती तथा सुत्केरी महिलालाई गुणस्तरीय सेवा उपलब्ध गराइरहेको छ । आर्थिक बर्ष २०७९–०८० मा १८४ जना महिलाले सुत्केरी सेवा पाएका छन् । जसमा १५५ जना महिला नरैनापुर गाउँपालिका वडा नं. ६ का रहेका छन् भने २९ जना अन्य वडा तथा डुडुवा र राप्तीसोनारी गाउँपालिकाका रहेका छन् ।
उनीहरुलाई प्रतिव्यक्ति रु.एक हजारका दरले रु.एक लाख ८४ हजार रकम प्रदान गरिएको छ भने गर्भवती जाँच गरेका १३३ जनालाई रु.८०० का दरले रु.एक लाख ६ हजार ४०० उत्प्रेरणाबापतको रकम प्रदान गरिएको छ । साथै प्रत्येक सुत्केरीले बच्चाको लागि न्यानो झोला र पोषिलो खाना प्याकेट पनि प्राप्त गरेका छन् । यस्तै अन्य सेवाहरुमा गर्भवती महिलालाई नियमित जाँच, आइरन तथा जुकाको औषधि वितरण तथा जटिल सुत्केरी महिलालाई निःशुल्क रुपमा एम्बुलेन्स सेवाबाट नेपालगन्ज पुर्याउने व्यवस्था गरी मातृ मृत्युदर शुन्यमा राख्न सफल भएका छौं ।
यस आर्थिक बर्ष २०८०–०८१ मा प्रत्येक दिन बिरामीको जाँचमा क्षयरोग तथा कुष्टरोगको चिन्ह तथा लक्षण मिलेमा खकार संकलन गरी नेपालगन्ज तथा लक्ष्मणपुर प्रयोगशालामा पुर्याउने व्यवस्था मिलाइएको छ । सोही कारणले यस आर्थिक बर्षको हालसम्म २० जना क्षयरोगी र १ जना कुष्ठरोगी पत्ता लगाएर नियमित उपचार दिइरहेका छौं । परिवार नियोजनका ५ वटा सेवाहरु निःशुल्क रुपमा उपलब्ध रहेकाले अन्य वडाका सेवाग्राहीले पनि सेवा पाइरहेका छन् । आर्थिक बर्ष २०७९–०८० मा परिवार नियोजन सेवा लिने महिलाको संख्या पिल्स २० जना, डिपो १०२ जना, इम्प्लान्ट २१२ जना र ७ जनाले बन्ध्याकरण सेवा लिएका छन् ।
परिवार नियोजनका साथसाथै १० हप्तासम्मको सुरक्षित गर्भपतन सेवा पनि रहेको छ । यस आर्थिक बर्ष २०८०–०८१ को हालसम्म ४३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । साथै यस आर्थिक बर्षमा परिवार नियोजन सम्बन्धी ७२०० जनाले सेवा लिएका छन् । स्वास्थ्य चौकीमा दैनिकरुपमा शंकास्पद बिरामीको मलेरियाको जाँच पनि हुँदै आएको छ । प्रत्यक महिनाको १९ गतेदेखि २३ गतेसम्म नियमित रुपमा खोप सञ्चालन गरी १३ प्रकारका प्राणघातक रोगविरुद्ध खोप लगाएर बाल मृत्युदरमा कमी ल्याउन ठुलो टेवा पुर्याएको छ ।
आर्थिक बर्ष २०७९–०८० मा १७८ जना बिसिजी, १८० जना डिपिटी, हेप भी, हिब–१ र १६१ जनाले दादुरा दोस्रो खोप प्राप्त गरेका छन् । यसले नियमित दिनुपर्ने खोप सेवा नागरिकले राम्रोसँग उपभोग गरिरहेको देखिन्छ । स्वास्थ्य संस्थाभन्दा नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि सोनबर्षा र गंगापुर गाउँमा प्रत्येक महिना नियमित रुपमा गाउँघर क्लिनिक सञ्चालन हुँदै आएको छ । बच्चाको पोषणको अवस्था थाहा पाउन स्वास्थ्य चौकीबाट दैनिकरुपमा दुई बर्षमूनिका बालबालिकाको तौल लिने, पाखुराको नाप लिने र कडा कुपोषित बच्चाहरुलाई शीघ्र कुपोषण कक्षमा भर्ना गरी उपचार गरेर निको पारिएको छ ।
यस आर्थिक बर्ष २०७९–०८० मा ४६ जना कुपोषित बालबालिका निको भएका छन् । नरैनापुर गाउँपालिका तथा राप्तीसोनारी गाउँपालिकाका केही वडाका कुपोषित बालबालिकाहरु स्वास्थ्य चौकीमा आएर भर्ना भई निको भएर घर फर्किँदा आमाबुवा निकै खुशी भएका छन् । यसै आर्थिक बर्षमा ५ बर्षमूनिका रुघाखोकीका ३४१ जना र झाडापखाला २३६ जना बिरामीले सेवा पाएका छन् । यसरी माथिका सबै स्वास्थ्य सेवाहरु प्रवाह गर्नका लागि स्वास्थ्य चौकी व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहेको छ । यस गंगापुर स्वास्थ्य चौकीको आफ्नै नाममा ५ कठ्ठा जग्गा समाजसेवी वडाध्यक्ष प्रेमचन्द्र मौर्यले प्रदान गरेका थिए ।
सोही कारण नेपाल सरकारको मापदण्ड अनुसार भवन बनेकाले गुणस्तरीय सेवा प्रदान गर्न सजिलो भएको छ । स्वास्थ्य चौकीले निरन्तर रुपमा गुणस्तरीय सेवा दिए पनि सेवालाई अझ राम्रो र प्रभावकारी बनाउन बर्थिङ्ग सेन्टरमा बिजुलीको समस्या हुन नदिन ब्याकअपका लागि इन्भर्टर ब्याट्री जडान गर्नुपर्ने आवश्यकता देखिएको भने बिरामीलाई बस्नका लागि प्रतिक्षालय (गोलघर)को आवश्यकता छ । यसरी माथिका स्वास्थ्य सेवा लिन जनतालाई पठाउने तथा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्वास्थ्य चौकीका प्रमूख तथा अन्य कार्यरत कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।
यसरी सबै स्वास्थ्यको सेवा राम्रो दिएका कारणले गर्दा बघौडा क्षेत्रको नमूना स्वास्थ्य संस्थाका रुपमा ‘गंगापुर स्वास्थ्य चौकी’ रहेको छ । साथै अन्य स्वास्थ्य चौकीभन्दा यस स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा, कडा कुपोषित बालबालिकाहरुको उपचार सेवाका साथै १० हप्तासम्मको सुरक्षित गर्भपतन सेवा दिइरहेको यस क्षेत्रकै नमूना स्वास्थ्य चौकी हो, ‘गंगापुर स्वास्थ्य चौकी’ । साथै स्वास्थ्य चौकीमा दरबन्दी अनुसारको उपलब्धता र कुशल स्वास्थ्य चौकी प्रमूख एवं सि.अहेव अधिकृत भरतराज गोराथोकीको प्रशासनिक नेतृत्वका कारण पनि ‘गंगापुर स्वास्थ्य चौकी’ बघौडा क्षेत्रकै नमूना स्वास्थ्य संस्थाका रुपमा स्थापित भएको कर्मचारीहरुको भनाई रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
भरतराज गोराथोकी । सिअहेव अधिकृत । गंगापुर स्वास्थ्य चौकी