सूचनाको शक्ति - The Power Of Information

        

डेरी उद्योगबाट राम्रो आम्दानी गर्दै सन्तोष

बाँकेको कोहलपुर नगरपालिका–११ का सन्तोष पौडेलले सात वर्षअघि एक लाखको लगानीमा सुरु गरेका डेरी उद्योगको लगानी अहिले ५० लाख पुगेको छ ।

दुग्ध विकास संस्थान कोहलपुरमा प्राविधिकको रूपमा काम गर्दै गर्दा २०७४ सालमा एक लाख रुपैयाँको लगानीमा कोहलपुर १० मा पौडेलले ए वन डेरी सञ्चालन गरेका हुन् ।

दुध र दुग्धजन्य पदार्थको माग बढ्दै जाँदा आम्दानी पनि बढ्दै गएकोले लगानी तीव्र रूपमा वृद्धि भएर ५० लाख पुगेको पौडेलको भनाइ छ । अहिले उनीसँग फ्याट निकाल्ने मेसिनदेखि दुध चिस्याउने र तताउने मेसिन समेत छन् ।

बजारमा अन्य थुप्रै डेरी उद्योग भए पनि अन्यको तुलनामा गुणस्तरीय उत्पादन बजारमा दिँदै आएकोले उनको उद्योगको उत्पादनको माग कोहलपुरमा अत्यधिक रहेकोले माग अनुसार पुर्याउन नसकेको पौडेलले बताए ।

एकदिनमा ६०० देखि ७०० लिटरसम्म दूध खपत गर्दै आएका सन्तोषले आफ्नो ए वन डेरीबाट विशुद्ध घ्यु प्रतिकिलो एक हजार २००, क्रिम प्रतिकिलो ८००, मोही प्रतिलिटर ६० रुपैयाँ, दुध प्रतिलिटर १०० रुपैयाँ र दही प्रतिलिटर १४० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

उनको उद्योगमा बिहानैदेखि दुध मोही लिने स्थानीयको लाम लाग्ने गर्छ । डेरी एसोसिएसन बाँकेका महासचिव समेत रहेका सन्तोषको यो पेसाले अन्य चार जनालाई रोजगारी समेत दिएका छन् । मासिक खर्च कटाएर ८० हजार रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार १७:००

लोकप्रिय