सूचनाको शक्ति - The Power Of Information

        

पाँच जनाको टोली लिएर भारत जाँदै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच जनाको टोलीसहित भोलि नयाँ दिल्ली जान लागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान नयाँ दिल्ली जान लागेका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीले भोलि आइतबार प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ । त्यसमा नेपालका सरकार प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड सानो टिम लिएर आइतबार भारतको राजधानी दिल्ली प्रस्थान गर्ने छन् ।

उनको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिव तथा छोरी गंगा दाहाल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र प्रधानमन्त्रीको पिएसओ रहने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ मा भोलि दिउँसो साढे १ बजे काठमाडौंबाट नयाँ दिल्ली जाने छन् । प्रधानमन्त्री पर्सी साँझ ६ बजे निगमकै उडान नम्बर आरए २१८ मा स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ आजै नयाँ दिल्ली गएका छन् । उनी नेपाल वायुसेवाको उडान नम्बर आरए २१७ मा दिउँसो सवा २ बजे काठमाडौंबाट प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १५:१३

लोकप्रिय