सत्ता गठबन्धनमा रहेका दुई दलका नेताहरु यतिबेला दन्तबजानमा उत्रेका छन् । एमाले अध्यक्ष केपी शर्माको अभिव्यक्तिलाई लिएर सत्ता गठबन्धनभित्रै दन्तबजान शुरु भएको हो । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पक्षमा वकालत गर्दै आएका एमाले अध्यक्ष ओलीविरुद्ध सिंगो राष्ट्रिय स्वतन्त्र पार्टी बगाबतमा उत्रिएको हो ।
रास्वपाले संस्थागत रुपमा नेकपा एमालेका अध्यक्ष ओलीको भनाइलाई लिएर प्रतिवाद गर्ने जनाएको छ । दुई दुई जना विदेशी नागरिकसँग विवाह गरी यूरोपतिर रमाइरहेकी तर पछिल्लो समय नेपाल आएको छोटो समयमै समानुपातिक सांसद र हाल शिक्षामन्त्रीसमेत भएकी सुमना श्रेष्ठको अपमान हुने गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको हो ।
ओलीले ‘विदेशमा बिहे गरेर नेपाल माइतीतिर घुम्न आउँदा फ्याट्ट मन्त्री भएको’ बताएका थिए । सुमनाले युरोपियन देशका नागरिकसँग बिहे गरेकी छन र पछिल्लो श्रीमान पोल्याडका नागरिक पावेल स्वाविङक्सी हुन । नेपाली राजनीतिक वृत्तमा मन्त्री सुमनाको पनि दोहोरो नागरिकता भएको आशंका गरिएको छ । उनीमाथि भुकम्प र कोरोनाकालमा नेपाल आएर क्रिश्चियन धर्म प्रचार गर्दै राहत सामग्री बाँड्ने गरेको आरोप पनि छ ।
अध्यक्ष रवि लामिछानेले बुधबार बिहान ओलीको नाम नलिई शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीररुपमा आपत्ति जनाएका थिए । उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरूले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे । कोसँग माया गर्ने, कोसँग विवाह गर्ने ? भन्ने कुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरूले केही पनि गर्न नसक्ने उनको तर्क थियो ।
सहकारी प्रकरणमा संसदीय छानवीन बनाउन ओलीले रविको नाम नराख्नका लागि सिंगो एमालेको पंक्तिलाई कांग्रेसका विरुद्ध परिचालन गरेका थिए । त्यही क्रममा ओलीले झापामा आयोजित एक कार्यक्रममा कथा बनाएर सुमनाको नाम नलिई माइती देश घुम्न आएकी चेली फ्याट्ट मन्त्री भइन् भन्ने अभिव्यक्ति दिएका थिए । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले एमाले अध्यक्ष ओलीको टिप्पणीप्रति आपत्ति जनाएका थिए । संविधानले दिएको अधिकार प्रयोग गरेर देशको नेतृत्व गर्न नपाइने हो भन्दै उनले ओलीलाई प्रश्न पनि गरेका छन् ।
‘विदेशमा उच्च शिक्षा हासिल गरेकी एक महिला नेतृ दश वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकाबन्दीका बेला सडकमा हिँडिरहेका मान्छेलाई यात्राको सुविधा प्रवाह गरिन्,’ खनालले प्रतिनिधि सभाको शून्य समयमा भने, ‘उद्यममार्फत रोजगारी सिर्जना गरिन् । पछि राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनेको छ भनिन्छ, कहिले च्यातिएको लुगा लगाएको भन्दै टिप्पणी गरिन्छ, कहिले समानुपातिक सांसद भनेर होच्याउने गरिन्छ । कहिले यही सभाहलभित्र कहिले बन्द कोठाभित्र ।’
रास्वपाले एमाले अध्यक्षप्रति लक्षित अभिव्यक्ति दिन थालेपछि सम्बन्धमा दरार उत्पन्न भएको हो कि भन्ने आशंकालाई बल पुगेको छ । केही दिन पहिले एमाले अध्यक्ष ओलीले विदेशमा पढ्न गएको र उतै विदेशीसँग विवाह गरी नेपालमा घुम्न आएका बेला मन्त्री बनेको भन्दै सुमना श्रेष्ठमाथि टिप्पणी गरेका थिए । उक्त विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत रास्वपाका कार्यकर्ताहरूले आलोचना गरिरहेका छन् । उता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ओलीको भनाइप्रति खेद व्यक्त गरिसकेकी छन् ।
देश कुनै अमुक नेताहरूको कैदमा रहेको र उनीहरूको मर्जीबिना पात पनि हल्लिँदैन भन्ने धारणा फेरिनु आवश्यक रहेको उनको भनाइ थियो । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालक्षित ‘माइत घुम्न आएको फ्याट्ट मन्त्री भइयो’ भन्ने अभिव्यक्ति दिएपछि उनलाई स्त्री द्वेषी भएको आरोप लागिरहेको छ । ओलीको सोही अभिव्यक्तिलाई जवाफ दिने गरी मंगलबार सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेखेकी छन्, ‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?’
विदेश पढेर आउने जनशक्ति, नेतृत्वलाई ‘ब्रेन गेन’को अवधारणासँग जोड्दै उनले राजनीतिमा जमेर बसेकाहरूलाई विदेश गएको जनशक्ति नेपाल फर्किँदा पैसाबाहेक सबै कुराले रित्तो भएर आउन भन्ने अभिप्राय राखेको आरोप लगाएकी छिन् । महिलाको हकमा यो अवस्था झनै विकराल रहेको उनको भनाइ छ । ‘म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरुद्धमा रहन आवश्यक छ,’ मन्त्री श्रेष्ठले लेखेकी छिन । रास्वपाले पनि संस्थागत रुपमै विरोध जनाइसकेको छ ।
एउटा कथा भन्दै ओलीले भनेका छन्, ‘एउटी चेली कुन देशमा कता गएर पढिन्, कुन देशमा गएर बिहे गरिन्, के भयो, अनि ती आफ्नो माइती देशमा एकपल्ट गइन् अरे, माइती देशमा गएको त्यहाँ त असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा कस्तो–कस्तो, कसरी अघि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थितिमा सांसदमा को उठ्छ भन्दा, म उठ्छु, कसलाई समानुपातिक चाहिया छ भन्दा, मलाई भन्दै सांसद भइन् अरे । मन्त्री भइन् अरे । कहिले कहिले हुन्छ त्यस्तो, कहिले कहिले आकाशबाट माछा बर्सिन्छ । पानी परेका बेला माछा खस्छ, माछा ।’
एमाले अध्यक्ष ओलीको यस्तो अभिव्यक्तिपछि रास्वपाभित्र आन्तरिक छलफलसमेत भएको थियो । रास्वपाकी समानुपातिक सांसद श्रेष्ठले पोल्यान्डका नागरिक पाबल स्वविन्ससँग दोस्रो विवाह गरेकी छन् । जेठ ८ मा सार्वजनिक भएको मन्त्री श्रेष्ठको सम्पत्ति विवरणमा श्रीमान् स्वविन्सको नाममा १ लाख ८९ हजार ७०० अमेरिकी डलर र पोल्यान्डको मुद्रा १ लाख ८० हजार रहेको उल्लेख छ । यही हेरेपछि ओलीले उनीमाथि टिप्पणी गरेको एमालेका नेताहरूले बताएका छन् । अध्यक्ष ओलीले सुमनामाथि मात्र होइन गृहमन्त्री लामिछानेमाथि पनि कटाक्ष गरेका थिए ।
उनले लामिछानेलाई ‘भँगेरा’को संज्ञा दिएका थिए । ओलीले कांग्रेस रवि लामिछाने विरुद्धमा खनिनु भनेको ‘भँगेरा मार्न तोप बोकेर जानु सरह’ भएको टिप्पणी गरेका थिए । ‘अहिले नेपाली कांग्रेस रवि लामिछाने कि को भन्ने पात्रविरुद्ध खनिएको छ । के खनिनु ? भँगेरा मार्न जाने तोप बोकेर,’ जेठ १० गते सुनसरीमा आयोजित कार्यक्रममा ओलीले कटाक्ष गरेका थिए । सत्ता गठबन्धनको प्रमुख दलका अध्यक्ष ओलीले यसरी बारम्बार रास्वपाबाट मन्त्री बनेकाहरूप्रति कटाक्ष गर्न थालेपछि रास्वपा र एमालेबीच दूरी बढ्ने आँकलन गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं