सूचनाको शक्ति - The Power Of Information

        

मधेशको मुख्यमन्त्रीमा सतिशको दाबी पेश, कुन पार्टीलाई कुन मन्त्रालय ?

मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन् । उनले ६ दलीय गठबन्धनमा आवद्ध ५५ सांसदको हस्ताक्षरसहित शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादीका ९ र एकीकृत समाजवादीका ७ र एक–एक प्रदेशसभा सदस्य रहेको संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिले पनि नयाँ सरकारलाइ साथ दिएका छन् ।

मधेस प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा सिंहलाई शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । आजै मन्त्रीको टुंगो लाग्ने र नवनियुक्त मुख्यमन्त्रीसहित उनीहरुको मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख भण्डारीले सपथ गराउने कार्यक्रम तय भएको छ ।

यसअघि हिजो दिनभरि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटमा छलफल भए पनि सहमति नजुटेपछि दाबी पेस गर्नमा ढिलाइ भएको थियो । प्रदेश प्रमुख समित्रा भण्डारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समयसीमा दिएका थिए ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनको सरकार ढलेको हो । यादवको सरकार अल्पमतमा परेसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

कुन पार्टीलाई कुन मन्त्रालय ?

राति अबेरसम्म बसेको ६ साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुङ्ग्याएसँगै एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ र नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एक–एक मन्त्रालय परेको छ ।

एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी अर्थ र पर्यटन, नेकपा एस कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने भएको छ । यस्तै १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ ।

नेसपाका सांसद विमला अन्सारी तरन्नुम गृहमन्त्री बन्ने पक्का भएको छ । जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण र एक विना विभागीय मन्त्री पाउने भएको छ । मधेशमा ११ वटा मन्त्रालय रहेका छन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेर दाबी गरेका हुन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १०:१२

लोकप्रिय