सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा पुरानै कार्यक्रमको निरन्तरता

लुम्बिनी प्रदेश सरकारले आव २०८१–०८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ ।

सरकारले लुम्बिनी प्रदेशका गौरवका आयोजनाहरु लुम्बिनी प्रादेशिक अस्पताल, एकीकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल, राप्ती प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरेको छ ।

स्थानीय तहसँगको साझेदारीमा सञ्चालित ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम’लाई पनि निरन्तरता दिइने उल्लेख छ । लुम्बिनीलाई केन्द्र बिन्दु बनाएर देवदह, तर्गौली ताल, ककरपत्तानगर, बुद्ध मंगलताल, रामग्राम स्तुपा, सगरहवा, निग्लहवा, कुदान र तिलौराकोट लगायतका स्थल समवेश गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवर्धन कार्यक्रम तयार गरी संघीय सरकारको समन्वयमा अघि बढाउने उल्लेख छ ।

सरकारले लुम्बिनी प्रदेशको मौलिक अवस्था, संस्कृति र जलवायु अनुकुल स्थानीय आर्थिक प्रणालीको अध्ययन अनुसन्धान एवं विकासका लागि लुम्बिनी बौद्ध शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । ‘लुम्बिनी ढोरफाटन दुनै जुम्ला खलंगा रारा काँक्रेविहार कोहलपुर लुम्बिनी’ जोड्ने गरी बृद्ध पर्यटकीय पदमार्ग र ‘देवघाट रुरुधाम मुक्तिनाथ दामोदर कुण्ड’ समेटिएको धार्मिक मार्गको सम्भावना अध्ययनका लागि अन्तरप्रदेश समन्वय गर्ने नीति पनि सरकारले अघि सारेको छ ।

प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको ‘रामपुर कपुरकोट’ सडकको स्तरोन्नती कार्यलाई छुट्टै आयोजनाको रुपमा अघि बढाउने नीति पनि सरकारले अघि सारेको छ । प्रदेशको आर्थिक क्षेत्र चलायमान हुनेगरी कृषि पकेट क्षेत्रमा कृषि सडक, पर्यटकीय स्थलमा पर्यटन स्थल पहुँच मार्ग, महत्वपूर्ण उद्योग जोड्ने उद्योग स्थल पहुँच मार्ग निर्माणमा पनि सरकारले जोड दिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १९:२७

लोकप्रिय