पश्चिम नेपालकै सबैभन्दा ठुलो तथा अहम नाका मानिने नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले लक्ष्यको आधा मात्र भन्सार राजस्व सङ्कलन गर्न सकेको छ । केही वर्षपहिलेसम्म यो नाकाबाट लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन हुँदै आएकोमा सो घट्दै गएर अहिले लक्ष्यको आधा मात्र सङ्कलन हुने अवस्थामा पुगेको देखिन्छ ।
नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, चालु आव २०८०–०८१ को १० महिनामा निर्धारित वार्षिक लक्ष्यको ५१.२३ प्रतिशत मात्रै राजस्व असुली भएको छ । अब बाँकी दुई महिनामा लक्ष्य भेटाउनका लागि भन्सारले बाँकी ४९ प्रतिशत राजस्व असुली गर्नुपर्ने भएकाले लक्ष्य अनुसार कुनै पनि हालतमा राजस्व सङ्कलन हुने देखिँदैन ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आव २०८०–०८१ का लागि कुल २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य प्राप्त गरेकोमा वैशाख मसान्तसम्म जम्मा १४ अर्ब ६८ करोड २२ लाख ९० हजार मात्रै असुली गर्न सफल भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले बताए । उनले विभिन्न कारणले चालु आवको कुनै पनि महिनामा नेपालगन्ज भन्सारले आफ्नो मासिक लक्ष्य अनुसार असुली गर्न नसकेको जनाए ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख विकले बढीभन्दा बढी राजस्व सङ्कलन गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । सीमापारिबाट हुँदै आएको ठुलो परिमाणको अवैध आयात, चोरी पैठारी र आयातनिर्यातमा भएको कमीकमजोरी लगायतकै कारण भन्सार राजस्व असुलीले लक्ष्य प्राप्त गर्न नसकेको जनाइएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी अगुवा नन्दलाल वैश्यले चोरी, तस्करी र अवैध आयात बढ्दै जाँदा वैध रूपमा सङ्कलन हुँदै आएको राजस्व सङ्कलन प्रभावित भएको बताए । उनले राजस्व सङ्कलन बढाउन नाकाबाट हुने तस्करी, अवैध आयात र चोरीनिकासीलाई शून्यमा झार्नुको विकल्प नरहेको दाबी गरे ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके