सूचनाको शक्ति - The Power Of Information

        

आगामी असार २ गते तनहुँको व्यास नगर प्रमुखको पुनः मतगणना

आगामी असार २ गते तनहुँको व्यास नगरपालिका प्रमुखको पुनःमतगणना हुनेभएको छ । उच्च अदालत पोखराले गत जेठ १ गते गरेको फैसलाको शुक्रबार सार्वजनिक पूर्णपाठअनुसार असार २ गते पुनःमतगणना हुन लागिएको हो ।

फैसलामा एक महिनाभित्र पुनःमतगणना गर्नु भनिएअनुसार उच्च अदालत पोखराको सभाहलमा असार २ गते बिहान १० बजेदेखि मतगणना गर्न हुनेछ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगर प्रमुखको मतगणना बदर गरी पुनःमतगणना गर्न आदेश दिएको थियो ।

नगर प्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए । रिटमा अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत नगरप्रमुख बैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए भने जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए । मतदानकै बेला व्यास नगरपालिका–८ रिस्तीमा मतपत्र च्यातिएपछि जोशीमाथि आक्रमण भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उक्त वडाको मतदान केन्द्रको मतदान स्थगित गरी पुनः मतदान गराएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार १३:०६

लोकप्रिय