सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्री रविको अधिकांश सम्पत्ति पत्नीको नाममा

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

विवरणअनुसार, लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ ।

पैतृक सम्पत्तिबाट प्राप्त यो जग्गाबाहेक अरु सबै पत्नी निकिता पौडेलको नाममा भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ । विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको भनिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० करोड तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन रहेको पनि खुलाएका छन् । त्यसको स्रोत भने अधिकांश बुबाआमाले दिएको र केही खरिद गरेको उल्लेख गरिएको छ ।

त्यस्तै, १५/२० केजी चाँदी रहेको भनिएको छ । त्यो २५० देखि ३०० प्रति तोला भएको बेला खरिद गरेको भनिएको छ ।

अन्य नगद निकिता पौडेलको नाममा छ । पत्नी निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन् ।

निकिताको नाममा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा कार खरिद गरेको भनिएको छ ।

निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको उल्लेख गरिएको छ ।

नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १७:०५

लोकप्रिय