सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को संयुक्त सदनमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा सहमति भएको हो ।

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल गरिरहेको छ । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री दाहालसँगको भेटमा प्रधानमन्त्रीले आज संघीय संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएकाले संसद अवरोध नगरिदिन अनुरोध गरेका थिए । प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानको लागि पहल गरिरहेको आश्वासन दिएपछि कांग्रेस अवरुद्ध सदन खुलाउन सकारात्मक भएको थियो ।

प्रधानमन्त्रीसँग छलफलपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले गरेको अनुरोधको विषयमा संसदीय दलको बैठक बसेर निस्कर्षमा पुग्ने उनले बताएका थिए ।

संघीय संसदका दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सम्बोधन गर्ने कार्यसूची छ । दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १०:४६

लोकप्रिय