सूचनाको शक्ति - The Power Of Information

        

अर्थसहित चार संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ ।

आज अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने छ ।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको कार्यसूची छ ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्ने छ ।

बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए गरेका काम तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, दिउँसो साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधनकर्तासँग छलफल गर्ने तयारी छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा अन्तर–धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०७:३४

लोकप्रिय