सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली सरकारलाई पूर्णता दिँदै मुख्यमन्त्री कँडेल, ६ मन्त्रीले आजै शपथ लिने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज प्रदेश सरकारलाई पूर्णता दिने भएका छन् । गत २७ चैत्रमा मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले २२ दिन पछि सरकारलाई पूर्णता दिन लागेका हुन् ।

मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । कँडेलले आज ६ जना मन्त्री नियुक्त गर्न लागेका छन् ।

सत्तारुढ दल एमाले र माओवादीबाट गरी ६ जनाले आज शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २:३० बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

यद्यपि ६ नयाँ बन्ने मन्त्रीको नाम भने सार्वजनिक भएको छैन । ८ सदस्यीय मन्त्रिमण्डलमा माओवादीले चार मन्त्रालयमा र एमालेले मुख्यमन्त्री सहित तीन मन्त्रालय पाउने सहमति दलहरूबिच यस अघि नै  जुटेको थियो ।

माओवादीले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, जलस्रोत तथा ऊर्जा विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने बताइएको छ ।

त्यस्तै एमालेले मुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था कृर्षी तथा सहकारी मन्त्रालय लिने सहमति भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १४:१४