सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचनको सुरक्षा तयारी पूरा

नेपाल प्रहरीले वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको हो ।

नेपाल प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिहीबार उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको बताएको छ । प्रहरीले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचन पछिको सुरक्षालाई अलग—अलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।

उपनिर्वाचन हुने दुवै जिल्लामा दुई हजार ३८७ प्रहरी कर्मचारी खटिने भएका छन् । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीमप्रसाद ढकालले निर्वाचनमा प्रदेश प्रहरी प्रमुखहरुले प्रत्यक्ष अनुगमन र समन्वय गर्नेगरि व्यवस्था मिलाइएको बताउनुभयो ।

निर्वाचन क्षेत्र भित्र मतदानको दिन हुनसक्ने सम्भावित जोखिमको विश्लेषण गरेर सबै सुरक्षा व्यवस्था मिलाएको प्रवक्ता ढकालले बताउनु भयो ।

इलाम–२ बाट निर्वाचित पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भदौ २६ गते हृदयघातको कारण निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको थियो । यस्तै, प्रदेश सभा सदस्य रहनुभएका बझाङ १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार २५ मा सवारी दुर्घटनामा परेर निधन भएको थियो । निर्वाचन हुने दुवै स्थानमा मौन अवधि सुरु भइसकेको छ ।

संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ ।

साथै प्रदेश सभाको हकमा धारा १७६ को उपधारा ८ मा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १६:३८