सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा मन्त्रीहरू थपिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। सम्भवतः आज नै मन्त्रिपरिषद बिस्तार हुनेछ।

सरकारमा सहभागी पाँच राजनीती दललाई सरकारमा सहभागी गराउनेगरी मुख्यमन्त्रीले दलहरूबाट मन्त्रीकाे नाम माग गरेकाे उनकाे सचिवालयले जनाएको छ।

चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसकेका छन्। अब बाँकीलाइ मन्त्रीमा सहभागी गराएर मन्त्रिपरिषद्लाइ पूर्णता दिने तयारी छ।

लुम्बिनी प्रदेश सरकारमा एमालेले दलउपनेता चेतनारायण आचार्यकाे नेतृत्वमा सहभागीता जनाउने छ। आचार्य मन्त्री बनिसकेका छन्। उनकाे जिम्मेवारी ताेकिएकाे छैन।

तर, आचार्यले अर्थमन्त्रालय सम्हाल्नेगरी जिम्मेवारी पाउने जनाइएको छ। एमालेबाट अब सरकारमा भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीलाइ मन्त्रीकाे रूपमा पठाउनेगरी नाम सिफारिस गरेकाे एमाले संसदीय दलकाे कार्यालयले जनाएको छ।

ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीकाे जिम्मेवारी पाउने देखिएकाे छ। माओवादीबाट सरकारमा दिपेन्द्र पुन मन्त्री बनिसकेका छन्।

माओवादीबाट थप एक जना कृष्णा केसी मन्त्री बन्नेछिन्। पुनले स्वास्थ्य र केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयकाे जिम्मेवारी पाउने जनाइएको छ।

जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन्। उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयकाे जिम्मेवारी पाउने छन्। नागरिक उन्मुक्ति पार्टीले भाैतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ।

साे दलभित्र कसलाई मन्त्रीकाे रूपमा पठाउने भन्ने बारेमा छलफल चलिरहेकाे छ। स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री बन्दैछन्। उनले पर्यटन उद्योग र सहकारी मन्त्रालयकाे जिम्मेवारी पाउने जनाइएको छ।

यसरी मन्त्रालयकाे भागबन्डा गर्दा लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन्।दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ। मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूकाे बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियाे।

तर, याे सहमतिअनुसार तत्काल नेकपा एकिकृत समाजवादी सरकारमा सहभागी नहुने देखिएकाे छ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १०:११