सूचनाको शक्ति - The Power Of Information

        

विश्वदीपले पनि छाडे बाबुरामलाई

नेपाल समाजवादी पार्टीका राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले पार्टी परित्याग गरेका छन्।

पाण्डेले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर)मार्फत नेपाल समाजवादी पार्टीमा नरहेको घोषणा गरेका हुन्।

उनी भूमीगत कालदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव थिए।

पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजनसम्म पुग्दासम्म उनी भट्टराईकै साथमा थिए।

त्यसअघि पाण्डे पनि नेसपा र माओवादी एक हुनुपर्ने पक्षमा थिए।

त्यसका लागि उनले पटकपटक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना अध्यक्ष भट्टराईबीच भेटको वातावरण मिलाएका थिए।

पछि प्रचण्ड र भट्टराईबीच दूरी बढेपनि पार्टीभित्र माओवादीसँग एकता गर्नुपर्ने मत बढेको थियो।

त्यसबीच गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए।

त्यतिबेला पाण्डे भने अध्यक्ष भट्टराईकै पक्षमा थिए।  एक महिनापछि भने उनले भट्टराईो साथ छोडेको घोषणा गरेका हुन्।

‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु,’ उनले सोमबार बिहान एक्समा लेखेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ०९:१४

लोकप्रिय