सूचनाको शक्ति - The Power Of Information

        

वैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण गर्न बाँके कांग्रेसको निर्देशन

नेपाली कांग्रेस बाँकेले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गरेको छ ।

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा गत साता बसेको जिल्ला कार्यसमितिको बैठकले सो निर्णय गरेकोले सोही बमोजिमको सर्कुलर गरिएको हो ।

बैठकले विधानतः सबै तहले गर्नुपर्ने वार्षिक सम्मेलन (वडादेखि क्षेत्र) वैशाख मसान्तसम्म गरिसक्न निर्देशन दिएको थियो । यस्तै सोही बैठकले जिल्लामा कार्यक्रमहरू गरिँदा संस्थापक नेताहरूको फोटो मात्र राख्ने गरिएकोमा अबदेखि संविधान पिता सुशील कोइरालाको पनि फोटो राख्ने निर्णय गरेको कार्यवाहक सभापति अधिकारीले बताउनुभयो ।

पार्टीका पूर्व जिल्ला सभापति तथा पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले महासमिति सदस्यबाट दिएको राजीनामा पुनर्विचार गर्न अनुरोध गर्दै अस्वीकृत गर्ने निर्णय पनि बैठकमा गरिएको थियो ।

तर हमालले पार्टीभित्र उठाएको सनातन हिन्दु राष्ट्रको मागलाई जिल्लाको वार्षिक सम्मेलनमा प्रस्तावका रूपमा लैजाने निर्णय पनि बैठकले गरेको कार्यवाहक सभापति अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार १८:३६