सूचनाको शक्ति - The Power Of Information

        

वैशाख २ गते राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

मन्त्रिपरिषद्को बैठक काठमाडौँ, ३० चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिरः प्रदीपराज÷वन्त

सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन वैशाख २ गते मध्यरातदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको पनि जानकारी दिनुभयो ।

त्यस्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १७:०७