सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन २०८१ : आज उम्मेदवारको मनोनयन दर्ता

आगामी वैशाख १५ गते हुने इलाम–२ र बझाङ प्रदेश १ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आयोगले आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्नेछ । यस्तै, आयोगले उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । यसैगरी भोलि साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

इलाम–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट डम्बर खड्का, एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बन्दैछन् । यस्तै, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवारका रुपमा डकेन्द्र थेगिम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश चौहान र जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दिँदैछन् ।

यहाँ नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने जनाएको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम–२ मा ७९ वटा मतदानस्थल र १४९ मतदान केन्द्र निर्धारण गरेको छ भने बझाङ प्रदेश १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०६:५८

लोकप्रिय