सूचनाको शक्ति - The Power Of Information

        

सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैन : रवि लामिछाने

गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही उल्लेख नभएको बताएका छन् । उनले संसदीय समितिमा उपस्थित भएर यस्तो जानकारी गराएका हुन् ।

“उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको छैन,” उनले भने ।

उनले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको बताउँदै अहिले प्रभावित हुने काम नहुने बताए ।गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताएका छन् ।

प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा सांसदले राखेको प्रश्नको जवाफमा गृहमनत्री लामिछानेले मन्त्रालयले यसबारे अध्ययन सुरु गरिरहेको जानकारी दिए ।

“हतियार राख्ने विषयमा धेरै कुरा आयो । अहिले प्रारम्भिक रूपमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग भएको पाइएको छ,” गृहमन्त्री लामिछानेले भने, “हतियारको मालिक एउटा चलाउने अर्को व्यक्ति भएको पाइएको छ ।

हतियार चलाउने अख्तियार प्राप्त नभएको व्यक्तिको हातबाट पक्राउ परेको छ ।” उनले यसबारे अदालतको आदेश आइसकेको भन्दै आवश्यक काम मन्त्रालयले सुरु गरिसकेको बताए । “यस्ता हतियार कति राखियो, विवरण मगाएका छौँ,” लामिछानेले भने ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १५:४५

लोकप्रिय