सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने माओवादीले गरेको छैन ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।

माओवादी पदाधिकारी बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको जानकारी दिए ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम- २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रले बझाङको उम्मेदवार चयन गर्न सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १६ र १७ चैतमा बोलाएको छ ।

सत्ता साझेदार नेकपा एमालेले इलाम-२ मा नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई र बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने भनेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश समितिले इलाम-२ को उम्मेदवारका लागि केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:४२

लोकप्रिय