सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस-माओवादी अर्थपूर्ण भेटघाट

समीकरण फेरिएपछि देउवा र प्रचण्डबीच मध्यरातमा अर्थपूर्ण वार्ता

कांग्रेस सभापति शेरबहादुर देउवा राती सवा ११ बजेसम्म बालुवाटारमै थिए ।

सत्ता समीकरण बदलिएपछि नेपाली कांग्रेसका शीर्ष नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार राती लामो वार्ता भएको छ । राती १० बजे बालुवाटार छिरेका कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोली सवा ११ बजेसम्म बालुवाटारमै थियो ।

मंगलबार दिउँसो नै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता एवं राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाबीच पनि छलफल भएको थियो । दिउँसो सिटौलाले भेटेर देउवालाई ब्रिफिङ गरेपछि राती प्रचण्ड र देउवाबीच छलफल भएको हो ।

यसबारे कांग्रेसका नेताहरुले केहि नबताए पनि बालुवाटार स्रोतले टीआरसीका विषयमा छलफल भएको जानकारी दिएको छ । सभापति देउवा १० बजेको हाराहारीमा प्रधानमन्त्री निवास बालुवाटार छिरेका थिए ।

साढे ११.१५ सम्म भित्र नेताहहरुबीच के विषयमा कुरा भयो थाहा भएन, देउवा आउनुअघि टीआरसीबारे छलफल गर्न कांग्रेस सभापति आउनँदै हुनुहुन्छ भन्ने खबर थियो, स्रोतले भन्यो । बालुवाटारमा प्रचण्ड र देउवाबीच झण्डै डेढ घण्टा छलफल थियो ।

भेटमा टीआरसी विधेयक र बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका विषयमा छलफल भएको भनिएको छ । मंगलबार दिउँसो नेता सिटौला र प्रधानमन्त्रीबीच छलफल भएपछि सभापति देउवा केहि नेतासँग बालुवाटार राती छिरेका थिए ।

नयाँ गठबन्धन बनेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक छलफल भएको हो । उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सभापति देउवाले प्रधानमन्त्रीसँग भएको छलफलका विषय पदाधिकारी बैठकमा जानकारी गराउने बताइएको छ ।

इलाम २ को उपनिर्वाचनमा उम्मेदवार चयनका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाउने तयारी छ । चैत १८ गते अगाडी सभापति देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:१९

लोकप्रिय