सूचनाको शक्ति - The Power Of Information

        

एमाले प्रवेश गरेको केहीबेरमै मन्त्री !

स्वतन्त्र रुपमा निर्वाचित भएका प्रमोद जयसवाल नेकपा (एमाले) प्रवेश गरेको केहीबेरमै मन्त्री बनेका छन् । २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी पर्सा ३ ‘क’बाट स्वतन्त्र सांसद निर्वाचित भएका थिए । प्रदेशसभामा आफ्नो धारणा राख्दा जनता समाजवादी पार्टी (जसपा)को पक्षमा देखिने गरेका थिए । धेरैको आकलन थियो, उनी जसपामा प्रवेश गर्छन् ।

तर शनिबार एमाले प्रवेश गरेर मन्त्री बनेका छन् । उनी मन्त्रीको रुपमा सपथ लिएको केही समयअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । मधेश प्रदेशसभामा एमालेका २४ सांसद छन् । प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल पनि हो । संसदीय दलका नेता सरोजकुमार यादव चैत ५ मा मन्त्री बनेका थिए ।

त्यसपछि एमालेमा मन्त्रीका लागि दौडधुप चलिरहेको थियो । थुप्रै सांसदले ‘लबिइङ’ गरिरहेका थिए । मन्त्रीको टुंगो लगाउन गाह्रो भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो । एमालेका पुराना सांसदलाई पछ्याउँदै जयसवाल मन्त्री बनेका छन् । उनलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्री बन्ने पक्का भएपछि मात्रै उनी एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमालेमा ल्याउन कि नल्याउने भन्नेमा पनि विवाद थियो । मन्त्रीको शपथ लिएपछि संक्षिप्त कुराकानी गर्दै जयसवालले अब सबै विवाद समाधान हुने प्रतिक्रिया दिए । ‘आज म एमालेमा प्रवेश गरेको छु, सबै कुरा मिल्दै छ,’ उनले भने ।

जयसवालको प्रवेशसँगै मधेश प्रदेशसभामा एमालेका २५ सांसद पुगेका छन् । नेपाली कांग्रेसका २२ सांसद छन् भने तेस्रो नम्बरमा रहेको जसपाका १९ सांसद छन् । जसपाका सरोजकुमार यादवले सरकारको नेतृत्व गरिरहेका छन् । यसअघि कांग्रेसले मुख्यमन्त्री बनाएको थियो भने अहिले एमालेले समर्थन गरिरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार १७:५६

लोकप्रिय