सूचनाको शक्ति - The Power Of Information

        

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक ११.१५ बजे बस्दैछ ।

प्रतिनिधि सभाको बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ. एस. ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै विधायीकी कार्य, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव माथिको छलफलको क्रममा उठेका प्रश्नको अर्थमन्त्रीबाट जवाफ दिने कार्यसूची रहेको छ ।

यसैगरि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेका विषयवस्तु समावेश भएको प्रतिवेदन सम्बन्धित निकाय पठाउन निर्देश गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरि आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ ।

अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने बैठकको सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार ०८:५३

लोकप्रिय