सूचनाको शक्ति - The Power Of Information

        

रास्वपामा परिवारवाद निषेध, सरुवा र बढुवा सिफारिस गरे कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

रास्वपा पछिल्लो समय सरकारमा गएपछि सरकारमा सामेल मन्त्रीहरुसहित नेताहरुले प्रत्येक आइतबार नियमित छलफलको सुरुवात गरेको छ । रास्वापाका चार मन्त्री र उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल र सासंद शिशिर खनालको बैठक बस्ने गरेको छ ।

आज दोस्रो पटक बसेको बैठकले सो निर्णय गरेको हो । ‘सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधरण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय गरिएको छ,’ रास्वपाले भनेको छ ।

त्यस्तै राजनीतिक नियुक्तिका लागि परिवारवादलाई पूर्ण निषेध गरिएको रास्वपाले जनाएको छ । पार्टीले जान्नेलाई छान्ने अवधारणा अनुसार समावेशितालाई मध्यनजर गर्दै मेरिटोक्रेसीलाई प्रधान मानी अघि बढ्ने निर्णय गरेको बताइएको छ ।

‘राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ । यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समेवसीतालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइनेछ,’ रास्वपाले भनेको छ ।

त्यस्तै मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव, कमजोरीलाई समिक्षा गर्दै मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागि संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको छ । त्यसको साथै मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभवीहरूको सघाउ समूह बनाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १३:४०

लोकप्रिय