सूचनाको शक्ति - The Power Of Information

        

बाबुरामले वनभोज खाँदाखाँदै प्रचण्ड र महिन्द्रले पार्टी फुटाइदिए !

शनिबार बिहान नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेपाल समाजवादी पार्टी (नेसपा)का महासचिव रमेशप्रसाद यादवबीच पार्टी एकता गर्ने सहमति भयो । यो सहमतिसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गठबन गरेको नेसपाबाट उनै बाबुराम एक्लिएका छन् । पार्टीका अध्यक्ष महिन्द्रराय यादव पक्षले एकतर्फी रूपमा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेको हो ।

यसमा बाबुराम सहमत थिएनन्, छैनन् । शनिबार बालुवाटारबाट बाहिरएको पार्टी एकता गर्ने सहमतिपत्र सार्वजनिक हुँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भने गोरखामा थिए । आफू पढेको स्कुल पालुङटारको अमरज्योति माविका पूर्वविद्यार्थीले आयोजना गरेको वनभोज कार्यक्रममा उनी सहभागी भइरहेका थिए ।

वनभोजमा नेपाल समाजवादी पार्टीकै गण्डकी प्रदेशसभा सदस्य रहेका फणीन्द्र देवकोटा पनि सहभागी थिए । त्यही बेला नेसपा अध्यक्ष महिन्द्रराय यादव र माओवादी अध्यक्ष प्रचण्डसमेतको उपस्थितिमा नेसपा महासचिव यादव र माओवादी महाचिव गुरुङले एकता गर्ने सहमति गरेका थिए । यो खबर सार्वजनिक भएसँगै बाबुराम वनभोज कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

सहमति घोषणा कार्यक्रममा माओवादीबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका तर्फबाट अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित नेता उपस्थित भएको तस्वीर सार्वजनिक भएको छ । भट्टराईले भने प्रचण्डले राजनीतिक ठगी गरेको र उनमा नैतिकताको खडेरी परेको प्रतिक्रिया दिएका छन् ।

नेसपाले आइतबार कार्यकारिणी र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको थियो। बाबुरामले पार्टी एकताको सहमति अवैधानिक भएको तर केही व्यक्तिले पार्टी छोडेर जान सक्ने बताएका छन् । हालै मात्र बाबुरामले निर्वाचन आयोगलाई एक पत्र लेख्दै माओवादीको चुनाव चिह्नबाट जितेका आफ्ना सांसदलाई नेसपा सांसदकै रुपमा मान्यता दिन आग्रह गरेका थिए ।

बाबुरामले २०७९ को मंसिरमा भएको आमचुनावमा गोरखा–२ प्रचण्डलाई छोडेर आफू चुनाव नलडी बसेका थिए । त्यसबेला पनि पार्टी एकता गर्ने सहमति भएको थियो । माओवादीको चुनाव चिह्नबाट नेसपाका दुई प्रतिनिधिसभा सांसद, बागमतीमा नेसपाका गंगानारायण श्रेष्ठ र गण्डकीमा फणिन्द्र देवकोटा विजयी भएका थिए ।

उता यादव पक्षकै नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफूहरूको सिंगो पार्टी नै नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न लागेको प्रतिक्रिया दिएका छन् । बाबुरामले केही व्यक्तिले पार्टी छोडेर जान सक्ने तर पार्टी एकताको सहमति अवैधानिक बताइरहेका बेला श्रेष्ठले यस्तो अभिव्यक्ति दिएका हुन् । दुई पार्टीबीच एकता गर्ने सहमति चुनावअघिकै भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १७:१९

लोकप्रिय