सूचनाको शक्ति - The Power Of Information

        

लोकजीवनका भाका सुसेल्दै वसन्त

माटोको सुगन्ध नबोक्ने र मानिसको हृदय नछुने गीत के गीत ! गीतमा प्रकृतिको धुन र लोकको सुस्केरा होस् तब पो लोकगीत ! गायक तथा सर्जक वसन्त थापा पनि जनजीवनका भाका सुटुक्क टिप्छन् र गीतमा प्राण भर्छन् । चाहे त्यो पञ्चेबाजामा होस् या ठाडो भाकामा । उनको सङ्गीत–साधनाको जमिन भनेकै समाजका रीतिथिती, संस्कृति र भोगाइहरु हुन् ।

थापाले भने, ‘मौलिकता हराएको, संस्कृति लोप हुने किसिमका गीत मैले गाउनु नपरोस् । अहिलेसम्म आफैँले तय गरेको सङ्गीतसाधनाको घेराभित्र छु । खोजी र अनुसन्धानका पक्षबाट हेर्दा लोकसङ्गीतमा अझ धेरै काम गर्न बाँकी छ ।’ सङ्गीतकर्ममा दुई दशक बिताएका थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रुपमा परिचित छन् ।

अहिले ४० वर्षका उनी नेपाली लोकसङ्गीतका उम्दा प्रतिभाका रुपमा दरिएका छन् । भिन्न पहिचानसहित थापा लोकसङ्गीतको सेवामा अनवरत सक्रिय छन् । ठेट लय र शब्दमा जब उहाँको मादक स्वर मिसिन्छ तब त्यो लोकको सृजना बनिदिन्छ । उनमा बेग्लै स्वर र लठ्याउने गायकी रहेको धैरैले भन्ने गरेका छन् ।

मौलिक गायनमा थापाको प्रभावशाली उपस्थितिले उनको सङ्गीतप्रतिको रुचि र कलालाई पुष्टि गर्दछ । उनले हरेकजसो गीतमा आफ्नै गाउँबस्ती, चालचलन र परिवेशलाई उजागर गरेका छन् । कतिपयले यसलाई सृजनात्मक दायरा खुम्चाएको रुपमा पनि अथ्र्याउने गर्छन् । सङ्गीत–साधनामा लिप्त हुँदा उनी उही धर्ती, आँगन र पाखापखेरुमा पुग्छन् ।

जहाँ उनी जन्मिए, हुर्किए र गीत गुन्गुनाउन सिके । विगततिर नफर्केको भए, गाउँको माया मारेको भए थापाले कहाँ जन्माउन सक्नुहुन्थ्यो होला र ! ‘वारि घुम्टे, पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरम खोलाको’ या अरू यस्तैयस्तै । देशभित्र मात्र नभएर विदेशका झकिझकाउ मञ्चमा पनि उनी नेपाली परिवेश र गाउँबस्तीका भाकामा गुञ्जिन्छन् ।

गीतसङ्गीतमार्फत आफ्नो जन्मभूमिलाई देशविदेशमा चिनाउने उनको उद्देश्य छ । ‘लोकसङ्गीत फेरि एकपटक जुर्मुराएको छ, नयाँ पुस्ताको प्रवेश लोभलाग्दो छ,’ थापाले भने, ‘हामी आफ्नै मौलिकपनमा नफर्की सुखै छैन, लोप हुन लागेका हाम्रा संस्कृति, भाका, परिवेश अनुसार लय जोगाउनुपर्छ । लोकगीतका क्षेत्रमा खोज, अनुसन्धान गर्न राज्य तहबाट पनि अग्रसरता लिनु जरुरी छ ।’

उनले गीतमा प्रयुक्त भाषा नबुझेपनि नेपाली लोकधुन सुनेर विदेशीहरुसमेत रमाउने गरेको बताए । संसारभर छरिएका नेपालीले पनि लोक शैलीका गीतलाई बढी रुचाउने गरेको थापाको भनाइ छ । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका थापाले विसं २०५९ मा ‘नीलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा थालेका थिए ।

‘निलो फेवाताल’देखि ‘सालको पातको टपरी’ हुँदै ‘अरे भैया’सम्म आइपुग्दा थापाले नेपाली लोकसङ्गीतमा आफूलाई दह्रो गरी उभ्याउन सफल भएका छन् । उनको सङ्गीत, नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध लोकदोहारी गीत ‘सालको पातको टपरी’ले इतिहास रच्न सफल भएको थियो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको र सुनिएको गीतमा पर्दछ । अहिलेसम्म उक्त गीतले नौ करोड बढी ‘भ्युज’ बटुलिसकेको छ ।

चलनचल्तीका लोकदोहोरीसँगै ठाडो भाका, सालैजो, रत्यौली, यानीमाया जस्ता कैयन मौलिक गीतमा थापाले सङ्गीत दिएका छन् । कतिमा शब्द रचेका छन् भने कुनै आफैँले गाएका छन् । चार वर्षअघि सार्वजनिक चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली…’ गीतमा पनि उनको स्वर र सङ्गीत छ । विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको सहर हो प्रिया…’ मा उनकै सङ्गीत छ ।

गीतकार राम थापाको शब्द रहेको उक्त गजल गीतबाट नै अहिलेका चर्चित गायक राज सिग्देलको साङ्गीतिक यात्रा सुरु भएको थियो । ‘गीत गाउने रहरले काठमाडौँ छिरेको २१ वर्ष बितिसक्यो,’ थापाले विगत सम्झँदै भने, ‘म अहिले जहाँ छु, आफ्नै सृजना र श्रोता÷दर्शकका कारणले छु । म लोकसङ्गीतमै आफूलाई समर्पित गर्न चाहन्छु । मौलिक लयको खोजी र सङ्कलनमा अझ व्यवस्थित ढङ्गले लाग्नुछ, यसमा साङ्गीतिक समूह नै बनाएर काम गर्ने योजनामा छौँ ।’

लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा उनी पर्छन् । अथक मेहनत र साधनाको भट्टीमा खारिँदै थापाले लोकसङ्गीतमा उपल्लो स्थान बनाएका हुन् । ‘सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पुर्यायो,’ उनले भने, ‘नारायणगोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ । हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो ।’

रुचि सबैखाले गीतसङ्गीतमा भए पनि उहाँ आफ्नो सृजनाकर्मको केन्द्र लोकसङ्गीतलाई नै मान्छन् । व्यावसायिक सफलता हात पार्न लोकसङ्गीतको महत्वपूर्ण भूमिका रहेको थापाको भनाइ छ । मौलिकता, सृजनात्मकता, प्रस्तुतिमा नयाँपन र साधना सफलताको मन्त्र रहेको उनले बताए । ‘सृजनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित भएको छ,’ थापाले भने ।

समाजमा सुषुप्त अवस्थामा रहेका मौलिक लोकभाकालाई टिपेर त्यसलाई नयाँपन दिनमा उहाँ पोख्त छन् । ‘लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ । नयाँनयाँ प्रयोग पनि भइरहेका छन्,’ उनले भने, ‘पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो । अहिले त्यो छैन, गायक तथा निर्माताहरु स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ ।’

थापाले गीतमा सङ्गीत भरेबापत प्रशस्त पारिश्रमिक पाउने गरेको बताए । पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उनको भनाइ छ । गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्छन् । उनी गीत रचनामा पनि सिद्धहस्त छन् । लोकप्रिय पञ्चेबाजा गीत ‘वारि घुम्टे पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरमखोलाको’ र ‘आलु मीठो ताराखोलाको’ उनीले आफैँ लेखे, सङ्गीत भरे र गाए ।

उनलाई गीतमा विष्णु माझीदेखि देवी घर्तीसम्मका चर्चित गायिकाले साथ दिएका छन् । नवराज पन्त, प्रल्हाद सुवेदी लगायत नाम चलेका गीतकारसँग थापाले सहकार्य गरेका छन् । पञ्चेबाजामा ‘वारि घुम्टे पारि गाजा’बाट चर्चा पाएका उनले त्यसपछि थुप्रै पञ्चेबाजाका गीत लोकसङ्गीतलाई दिएका छन् । पञ्चेबाजालाई मूलधारको सङ्गीतमा समाहित गर्नेमा गायक थापाको पनि नाम लिने गरिन्छ ।

पञ्चेबाजा गीत सृजना गर्दा उनी आफ्नै भूगोलतिर फर्किएका छन् । हरेक गीतमा बागलुङ त्यसमा पनि गलकोटको पञ्चेबाजाको धुन झङ्कृत भइरहेको पाइन्छ । सृजनाका माध्यमबाट गाउँ, भूगोल र परिवेश चिनाउने श्रेय उनलाई दिइन्छ । उनले संसारको जुनसुकै ठाउँमा गएर ‘बागलुङ बजार बाघको सालिक’ गीत गाउँदा मानिसले बागलुङलाई सम्झन्छन् । ‘वारि घुम्टे पारि गाजा’ गाउँदा गलकोटको झझल्को सँगाल्छन् ।

‘माछा मीठो असला दरमखोला’ र ‘आलु मीठो ताराखोलाको’ गाउँदा बागलुङको स्थानीय उत्पादनको चिनारी गीतका मार्फत फैलिइरहेको हुन्छ । गीतको सजीवताका लागि थापा तत् ठाउँमै पुगेर ‘म्युजिक भिडियो’ छायाङ्कन गर्छन् । यसबाट स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा टेवा पुगिरहेको छ । विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्यायो । त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनुपरेको छैन ।

उक्त गीतपछि नेपाली लोकदोहोरीको सङ्गीतले नयाँ ‘मोड’ लिएको उनको विश्वास छ । श्रोता दर्शकको अपार मायासँगै उक्त गीतले राष्ट्रिय ‘अवार्ड’समेत पाएको थियो । विसं २०६८ मा थापाले सङ्गीत दिनुभएका ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाइहल्लाइ’ लगायत लोकदोहोरी पनि अत्यधिक सफल भएका थिए । मौलिक सृजनामा अब्बल थापाले अहिलेसम्म ७०० बढी गीतमा सङ्गीत र २०० बढीमा स्वर दिएका छन् ।

‘डाँडै बिसौनी’, ‘किन माया मसँग तरकतरक छ’ गीतले गायकका रुपमा थापालाई चिनाए भने मौलिक लयमा सृजित ‘बामरी’ गीतबाट पनि उनले प्रशंसा बटुले । थापा र विष्णु माझीले गाएको ‘बोकेझार’ गीतबाट थापाले थप सफलताको सिँढी चढे । उनले गाएका र सङ्गीत दिएका ‘आइपुग्यो बागलुङ बजार’, ‘म जन्मेको ठाउँ’, ‘जाम सुस्तै’, ‘चौतारीको वर’, ‘आज सँगै’, ‘सयको गुन तिरौँला’, ‘म त गाउँले ठिटो’, ‘माया हाँसेको’, ‘शुभ विवाह लेखेको’ लगायत गीत चर्चित छन् ।

‘पहिले गाउँघरका भाखा टिपेर ल्याउने र गीत रकेर्ड गर्ने चलन थियो, जसलाई लय सङ्कलन भन्ने गरिन्थ्यो । अहिले हामीले लय सङ्कलन होइन सृजना गरिरहेका छौँ, त्यसैले हामी सर्जक हौँ,’ थापाले भने । सङ्गीत व्यवसायसँग पनि जोडिएका थापाको अभ्यास डिजिटल प्रालि नामक सङ्गीत कम्पनी छ । कम्पनीबाट प्रवद्र्धित गीत उनकै नामको युट्युब च्यानलबाट सार्वजनिक हुने गरेका छन् ।

थापासँग अन्तरराष्ट्रिय कलाकार मञ्च, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, बागलुङ कलाकार समाज, नेपाल सङ्गीत उद्योग सङ्घलगायत सङ्घसंस्थामा काम गरेको अनुभव छ । मुख्य विधा लोकसङ्गीत रहे पनि थापाले सुगम, गजल, चलचित्र, लोकपप शैलीका गीतमा पनि स्वर र सङ्गीत दिएका छन् । साङ्गीतिक यात्राका क्रममा बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, कतार, दुबई, भारतलगायत देशमा पुगिसकेको थापाले सुनाए । उनी इमेज, बिन्ध्यवासिनी, अन्नुपूर्ण म्युजिक अवार्ड, उत्कृष्ट लय सर्जक सम्मान लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १७:०८