२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

रारामा साइकल लेन निर्माणको काम सुस्त

सत्यपाटीसत्यपाटी । मुगु । २०८३ वैशाख १९ गते शनिबार

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारा तालमा निर्माण भइरहेको गौरवको आयोजना ‘रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजना’को काम सुस्त देखिएको छ । म्याद सकिन दुई महिना बाँकी रहँदा कम्पनीलाई १२ करोड रकम भुक्तानी भएको र निर्माणको काम ४२ प्रतिशत मात्र भएको हो ।

निर्माणको जिम्मा लिएको कम्पनीले तीन वर्षदेखि रारा पर्यटकीय पूर्वाधार अन्तर्गत साइकल लेन, पर्यटकीय पदमार्ग निर्माणको काम पछिल्लो ६ महिनादेखि अलपत्र भएको देखिएको छ । उक्त आयोजनाका लागि सङ्घीय सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष ०७८।०७९ मा ४६ करोड ४२ लाखमा खानी थोदुङ क्याराभान कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको हो ।

आयोजनाको वित्तीय र भौतिक प्रगति ४२ प्रतिशत भएको र १२ करोड पेस्की भुक्तानी भएको र इपीजीको म्याद सकिएको छ । रारा ताल वरिपरि १४ किलो मिटर पर्यटकीय पूर्वाधार निर्माण साइकल लेन, पर्यटन पदमार्ग निमार्ण गर्नुपर्ने भएपनि ०७९ असार २४ गतेबाट काम सुरु भएको आयोजना अहिले अलपत्र अवस्थामा छ ।

गत बर्ष जिल्लामा रहेका सरोकारवाला निकायहरूको संयुक्त अनुगमन गर्दा साइकल लेनको गुणस्तरहीन स्थानको काम भत्काइएको थियो । काम प्रभावित हुँदा पर्यटकहरूलाई समेत असर परेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिर्ख बहादुर रोकायाले बताए ।

आयोजना सम्पन्न गर्नका लागि सदनदेखि मन्त्रालयसम्म धेरै पटक छलफल भएको र अब सरोकारवालाहरूसँग छलफल गरेर चाँडै निर्माण सम्पन्न गर्न पहल गरिने कर्णाली प्रदेश सभा सदस्य मङ्गल बहादुर शाहीले बताए । कम्पनीका तर्फबाट गर्ने धेरै काम सकिएको र बाँकी काम केही प्राविधिक समस्याका कारण रोकिएको निर्माण कम्पनीका प्रतिनिधि खड्क तामाङ्गले बताए ।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार