राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।
यो संख्या राष्ट्रियसभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरे । दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए ।
उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
राष्ट्रियसभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन । राष्ट्रियसभामा जनमोर्चाका एक जना तुलप्रसाद विश्वकर्मा सदस्य छन् । राष्ट्रपतिबाट मनोनित एक जनाको पद रिक्त छ । सभाध्यक्षले मत बराबर भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् ।
सत्यपाटी