सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा त्यस्तो सहमति जुटेको हो ।

आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न सहमत भएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।

बालुवाटार बैठकपछि गठबन्धनका नेताहरूले नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा सांसदसहित छलफल गरेका थिए ।

यसअघि, एकीकृत समाजवादीका नेताले आफ्ना मागमा प्रधानमन्त्रीले लिखित सहमति नगरे विश्वासको मत नदिने चेतावनी दिएका थिए । सरकारमा एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ११:१७

लोकप्रिय