लेकबेँसी गरेर जीवन निर्वाह गर्ने पश्चिम बागलुङको ग्रामीण क्षेत्रका नागरिकको चलन नै हो । एकै परिवारले सयौँ पशुचौपाय पाल्ने हुँदा पुखौँदेखि लेकबेँसी गर्दै आएका हुन् । लेकबेँसी गर्दै आएका अधिकांशको लेकमा अस्थायी गोठ बनाउने र बेँसीमा घर हुन्छ । बेँसीमा मात्रै पशुचौपाया पाल्न नसकिने हुँदा जेठदेखि कात्तिक महिनासम्म लेकमा बस्ने गर्छन् ।
लेकमा काठैकाठ र ढुंगाले गोठ बनाइएका हुन्छन् । एक दशक अगाडिसम्म ती गोठमा पुग्दा गोठालासहित भेडाबाख्रा, गाईगोरु र भैँसी भेटिन्थे । तर पछिल्लो समय ती गोठ जीर्ण बनेका छन् । उजाडिएका छन् । गोठालाले घामपानी, हावाहुरी र जाडो छेक्नका लागि बनाएको गोठ हिजोआज बेवारिसे बनेका छन् । पशुचौपाया कम पाल्ने र लेकबेँसी गर्ने चलन घट्दै गएपछि लेक पनि उराठिलो बन्न थालेका छन् ।
कुनै बेला सेताम्य भेडाबाख्राले ढाकिने खर्क, अग्ला डाँडा र बुकी सुनसान छन् । गोठालाले भरिने गोठ भत्किएका छन् । बुढापाका लेकबेँसी गर्न छोडे । युवा पुस्ताको रोजाइ सहर बजार र विदेश भयो । त्यसले गर्दा गोठालाको सङ्ख्या पनि कम हुँदै गयो । जब गाउँ मोटरबाटोले जोडिए, सेवा सुविधाको पहुँच सहज भयो, त्यसपछि पशुचौपाया पाल्ने पनि कम हुँदै गए ।
बागलुङको ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोला लगायतका ठाउँ उच्च पहाडी क्षेत्रमा पर्ने हुँदा यहाँका स्थानीय पशुपालनमा आश्रित थिए । स्थानीय तहले लेकसम्मै मोटरबाटो निर्माण गरेपछि पशुपालनको सट्टा अन्य पेसा अँगाल्नेको सङ्ख्या बढ्दै गयो । बुढापाका लेकमा पुग्न छोडे । युवालाई त्यसप्रति चासो छैन । दशकौँदेखि पशुपालनमै रमाउँदै आएका केही व्यक्ति भने अहिले पनि निरन्तर लेकबेँसी गरेर गुजारा चलाउँदै आएका छन् ।
गोठमै जन्मिएर, गोठमै हुर्किएका पुस्ताले मात्रै पशुपालन गरेर लेकबेँसी गर्ने तर अरुले चासो नदिने ढोरपाटन नगरपालिका–९ का तिलु घर्ती मगरले बताए । आफूले जान्ने हुँदादेखि नै लेकबेँसी गर्दै आएको ६९ वर्षीय उनको भनाइ छ । आफ्नो दौतरीमध्ये धेरैले गाउँमै सीमित पशु पाल्ने तर लेकमा आउजाउ भने गर्न छोडेको घर्ती मगरले बताए । अहिले धेरै भेडाबाख्रा पाल्ने पनि पहिलेको जस्तो माथिल्लो बुकीमा नजाने उनी बताउँछन् ।
घर्ती मगरले भने, ‘अहिले बुढेसकाल लाग्यो, जवानीमा जस्तो हिँडेर बुकीमा पुग्न गाह्रो हुन्छ, मसित अहिले दुई सयभन्दा धेरै भेडाबाख्रा छन्, गाईभैँसी ३० वटा छन्, गाउँमै बसेर यति धेरलाई पाल्न सकिन्न, लेकबेँसी नै गर्नुपर्छ, बर्खामा ढोरपाटनको मुख्य बुकीमा पुग्छौँ, जाडो याम सुरु भयो भने बेँसी झर्छौँ, पहिले एउटै गाउँका ५०–६० गोठाला हुन्थे, अहिले गोठ भत्किन थालेका छन् ।’
निसीखोला गाउँपालिका–६ का हर्कबहादुर बुढा मगरले गोठालो गर्न थालेको ५० वर्ष बढी भयो । पशुपालनबाटै सात जनाको परिवारको खर्च धान्दै आएका उनी अझै १० वर्ष लेकबेँसी गर्न सक्ने बताउँछन् । आफू सानैदेखि गोठमा बस्ने र पशुचौपायाको हेरचारमा खटिँदा पढाइलेखाइ गर्न नपाएको बुढा मगरले सुनाए । उतिबेलाको जमानामा पढ्ने लेख्ने चलन नहुँदा गोठमै बाल्यकाल बिताउनु परेको उनको भनाइ छ । पछिल्लो समय लेकमा जाने चलन हराउँदै गएको छ ।
’हाम्रो पालामा खेतीपाती गर्ने, वन जंगल पुगेर पशुको हेरचाह गर्नुपर्थ्यौ, लेखपढ पनि थिएन, पहिला लेक जाने बेला पनि गाउँभरिका जम्मा भएर एकै पटक जान्थ्यौँ, रमाइलो हुन्थ्यो, लेकमा गोठ पालैपालो बनाउँथ्यौँ,’ बुढा मगरले भने, ’अहिले लेक उक्लिने थोरै छन्, बनाएका गोठ सबै भत्किए ।’ तमानखोला गाउँपालिका–३ का भीमबहादुर रोका पनि साढे चार दशकदेखि निरन्तर पशुपालनमा छन् । करिब पाँच सयको सङ्ख्यामा रहेका भेडालाई गाउँमा मात्रै घाँस र दाना पु¥याउन नसक्दा यामअनुसार लेकबेँसी गर्दै आएका छन् ।
लेकमा बस्दा पशुचौपाया पालनसँगै चोया तथा काठका सामग्री बनाउने र बेँसी झर्दा बेच्ने गरेको रोकाले बताए । गाउँभन्दा झन्डै एक दिनको दुरीमा अस्थायी गोठ बनाउने र त्यही बस्ने गरेको भन्दै पछिल्लो समय गोठ भत्किदै गएको र बनाउन पनि छोडेको उनको भनाइ छ । रोकाले भने, ‘पशुचौपाया लगेर एक हप्तामा मुश्किलले बुकीमा पुगिन्थ्यो, तर अहिले भेडाबाख्रा र गाईभैँसी पाल्ने कम भए, गोठाला पनि घटे, पहिला जस्तो दुई–तीन वर्षमा गोठ पनि बनाउनु परेको छैन, भएका गोठ पनि रित्तै छन्, अब यहाँका गोठमा को बस्ला ?’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बागलुङ