२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

राष्ट्रिय सभाका अध्यक्षको चुनाव फागुन २९ मा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २७ गते आइतबार

राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ।

राष्ट्रिय सभका उपाध्यक्ष उर्मिला अर्यालले आइतबारको बैठकमा फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको चुनाव तोकिएको जानकारी दिएकी छन्।

बैठकमा अर्यालले भनिन्, “राष्ट्रिय सभाको नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि सम्वत् २०८० फागुन २९ गते मंगलबारको दिन तोकेको छु।”

यसअघि नेकपा (एमाले)का सांसद गणेशप्रसाद तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष थिए। उनको कार्यकाल फागुन २० गते सकिएको छ।

अध्यक्ष तिमिल्सिनासँगै १९ जना सांसदको समावधि पनि सकिएको थियो। त्यो स्थानमा नयाँ सांसद निर्वाचित भएर आइसकेका छन्।

अहिले राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का १७, नेपाली कांग्रेसका १६, एमालेका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टी (जसपा) का तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।

सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक जना सांसद मनोनित हुन बाँकी छ। यसअघि मनोनित भएका सांसद विमला पौड्याल राईको समावधि सकिएको थियो।

सत्तारुढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ। त्यस्तै, कांग्रेसले पनि उम्मेदवारी दिने निर्णय गरेको छ। दुवै तर्फ उम्मेदवार तय हुन बाँकी छ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार