सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याएका छन् ।
नेकपा एमालेले आठ वटा मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) ले अर्थसहित पाँच वटा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४ वटा मन्त्रालय पाएका छन् ।
नेकपा एमालेबाट रघुवीर महासेठ– उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, राजेन्द्रकुमार राई– खानेपानीमन्त्री, पदम गिरी– कानुन न्याय तथा संसदीय मामिलामन्त्री, बलराम अधिकारी– भूमि व्यवस्था तथा सहकारीमन्त्री, भगवती चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, दामोदर भण्डारी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, हरि उप्रेती– रक्षामन्त्री र ज्वालाकुमारी साह– कृषिमन्त्री बन्नुभएको छ ।
पदम गिरी र बलराम अधिकारीबाहेकका मन्त्री गएको वर्षको पुसमा पनि सरकारमा सहभागी थिए । नेकपा एमालेले गृह वा अर्थ मन्त्रालय मागेको थियो । गृह वा अर्थ मन्त्रालय पाएको भए एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारको नेतृत्व दिने बताएको थियो । तर रोजेको मन्त्रालय नपाएपछि रघुवीर महासेठलाई सरकारमा एमालेको नेतृत्व गर्ने अवसर मिलेको हो ।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ– उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन– अर्थमन्त्री, शक्तिबहादुर बस्नेत– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा– सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ ।
नारायणकाजी श्रेष्ठ गृहबाट परराष्ट्र पुग्नुभएको हो भने शक्ति बस्नेत र रेखा शर्मा पहिलेकै मन्त्रालयमा यथावत् हुनुहन्छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने– उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विराजभक्त श्रेष्ठ– युवा तथा खेलकुदमन्त्री र डोलप्रसाद अर्याल (डीपी)– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।
अहिले राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको शपथ ग्रहण समारोह चलिरहेको छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरूको नाम दिइसकेको छैन । नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेको छैन । नागरिक उन्मुक्ति पार्टीले भने सरकारमा नजाने घोषणा गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति कांग्रेससँग सहकार्य तोड्दै नयाँ गठबन्धन बनाउनुभएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ