सूचनाको शक्ति - The Power Of Information

        

रवि र तोसिमालाई आफ्नै स्टाटस र तस्वीरले ‘जोकर’ बनाएपछि…

अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको एउटा स्ट्याटस भाइरल भइरहेको छ । गत असोज २७ गते उनले सामाजिक सञ्जाल फेसबुकमा पुराना सबै दललाई सहमतिको सरकार बनाएर अन्तिम अवसर सदुपयोग गर्न सुझाव दिएका थिए । उनले बाँकी रहेको चार वर्ष काम गरेर देखाइदिन पुराना दललाई चेतावनीसमेत दिएका थिए ।

उनले लेखेका थिए, ‘देशका व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो चार वर्ष तपाईँहरू सबै मिल्नुस् । देशका तममा समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । कांग्रेस एमाले, माओवादी भएका जति मिल्नुस् । हामी अब ८४ अगाडी केहीसँग मिल्दैनौंं । तपाईँहरू सबै मिलेर रास्वपाविरुद्ध गठबन्धन बनाए हुन्छ । उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै भएपछि सटर चाहिँ किन बेग्लाबेग्लै ?’

सोही स्ट्याटसको कारण अहिले रास्वपा सभापति लामिछानेमाथि विभिन्न टीकाटिप्पणी भइरहेको छ । सभापति लामिछानेले प्रतिपक्षी मोर्चा सम्हाल्ने र कोहीसँग नमिल्ने बताएको पाँच महिना नबित्दै सरकारमा सहभागी भएपछि रास्वपामथि सामाजिक प्रयोगकर्ताले ब्याङ्ग कस्न थालेका छन् । उनीहरूले रास्वपा ‘नयाँ बोतलमा पुरानै रक्सी’ भएको भन्दै ब्याङ्ग गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जसमा एमालेका पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल मन्त्री बनेका छन् । रास्वपा पनि सरकारमा सहभागी भएपछि नयाँ दल पनि सत्तामै लिप्त भएको आरोप लागिरहेको छ ।

त्यसैगरी रास्वपा सांसद तोसिमा कार्कीले एउटा तस्बिर पनि फेरि सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ । उनी ‘१७ हजार प्लस दुई’ लेखिएको प्लेकार्ड सहित उभिएका छन् । गत मंसिर २३ गते कोरिया भाषा परीक्षा (ईपीएस) मा सहभागी गराउन माग गर्दै भएको प्रदर्शनमा दुई युवकको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यसकै भोलिपल्ट कार्कीले ‘१७ हजार प्लस दुई बराबर कति ?’ लेखिएको ब्यानर बोक्दै प्रदर्शन गरेका थिए ।

उक्त प्लेकार्डसहितको फोटो सामाजिक सञ्जाल प्रयोग कर्ताले उनको नैतिकतामाथि प्रश्न उठाइ रहेका छन् । केहीले भने उनलाई मजाक बनाउने गरेका छन् । उपार्जुन चाम्लिङले फेसबुकमा लेखेका छन्, ‘१७००+ २’ लेखेको कागजको पन्ना बोकेर ट्याउँट्याउँ गरिहान्ने त्यो कार्कीनी बैनीलाई चाहिँ कता लुकाउने होला रवि दाइ ?’

सांसद कार्कीले ‘१७ हजार प्लस दुई’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेपछि प्रधानमन्त्री प्रचण्डले २०६२–०६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका थिए । उनले ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरूको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरूले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश नै पोखेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १३:०१

लोकप्रिय