सूचनाको शक्ति - The Power Of Information

        

नयाँ सत्ता समिकरणले माधव नेपाल मन कुँडियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सोमबार साँझ फोन गरेर स्वास्थ्य अवस्था बुझे । सामान्य रुघाखोकीका कारण घरमै आराम गरिरहेका नेता नेपाल आइतबारसम्म सत्ता गठबन्धनका महत्त्वपूर्ण नेता मानिन्थे ।

तर अप्रत्याशित कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर सोमबार औपचारिक रूपमा एमालेसहितको नयाँ सत्ता गठबन्धन निर्माण भयो । सोही गठबन्धनका आधारमा पुराना मन्त्री बर्खास्त गरेर सोमबारै तीन जना नयाँ मन्त्रीहरू थपेर प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको मन्त्रिमण्डल पुनर्गठन गरे ।

तर यसरी घटनाक्रम बदलिँदासम्म माधव नेपाललाई न प्रचण्डले नै थाहा दिए न एमाले अध्यक्ष ओलीले नै कुनै कुराकानी गर्न उचित ठाने । जब तीन मन्त्रीले शीतलनिवासमा शपथ खाए, त्यसपछि प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई विकसित घटनाक्रमबारे जानकारी दिँदै सोधखोज गरे ।

सोमबार साँझ बालुवाटारमा सरकारलाई पूर्णता दिन र शक्ति बाँडफाँड लगायतका विषयमा छलफल गर्न बोलाइएको गठबन्धनको बैठक चलिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले नेता नेपाललाई पनि समीकरणमा समेट्ने प्रयास गर्नुपर्ने धारणा राखे ।

प्रचण्ड र ओलीबीच यति कुरा भएपछि ओलीले बालुवाटारबाटै नेता नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझ्नुका साथै नयाँ समीकरण र प्रस्तावबारे प्रधानमन्त्री प्रचण्ड भेट्न आउने सन्देश दिए । लगत्तै प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई लिएर नेता नेपाल निवास कोटेश्वर पुगे । भेटमा प्रचण्डले पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरे ।

तर नेपालले पार्टीमा छलफल गरेर मात्र निर्णय गर्ने जवाफ दिए । किनभने अध्यक्ष नेपाल ओली प्रचण्डको पुस १० को सहमतिमा पनि बाहिरै थिए । उनले आफूलाई बाहिर राखेर ओली प्रचण्ड नयाँ समीकरण बनाउने र पछि आफूलाई औपचारिकताका लागि मात्र फोन संवाद र भेटवार्ता गर्ने गरेकाले विश्वस्त हुन नसकेको नेपाल निकट स्रोतले जनाएको छ ।

‘पहिला पनि ओली प्रचण्डले धोका दिएको हो । अहिले पनि लगभग त्यस्तै हो’, अध्यक्ष नेपाल निकट एक नेताले भने, ‘अघिल्लो दिनसम्म कुरा हुँदा पनि प्रचण्डले केही भन्नुभएन । बरु मधेसमा रहेका उपेन्द्र यादवलाई फोन गरेर रातारात काठमाडौँ बोलाइयो । यस्तो अवस्थामा कसरी विश्वास गर्ने ?’

बदलिएको समीकरणमा माधव नेपाल पनि समेटिए बागमती, गण्डकी लगायतका प्रदेशमा सरकार गठनमा सहजता हुने देखिन्छ । त्यही बुझेर ओली र प्रचण्डले नेपाललाई फकाउने प्रयास गरे पनि मन कुँडिएकाले नेपाल तत्काल नयाँ सत्ता समीकरणमा आइहाल्ने सम्भावना कम रहेको बुझिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १२:१९