सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद्को पुनर्गठन : तीन मन्त्रीको शपथ ग्रहण हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु फेरबदल हुने भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार अपरान्ह ५ बजेका लागि समय माग भएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले आज अपरान्ह नयाँ मन्त्रीहरुको शपथ ग्रहणका लागि राष्ट्रपतिसमक्ष समय माग भएको जानकारी दिनुभयो । “प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसँग भेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने र तीन सदस्यीय विनाविभागीय मन्त्रीहरुको नियुक्ति हुने जानकारी गराउनुभएको छ ।”

मागअनुसार शपथ ग्रहणको तयारी सुरु गरिएको राष्ट्रपति कार्यालयको सचिवालयबाट जानकारी प्राप्त भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई भेटगरी पछिल्लो राजनीतिक घटनाक्रम बारेमा जानकारी गराउनुभएको थियो ।

सोमबार बिहान प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । छलफलसँगै नयाँ राजनीतिक गठबन्धन निर्माण र पुरानो गठबन्धन भत्किने सङ्केत देखिएको थियो ।

सल्लाहकार आचार्यका अनुसार आज शपथ लिनुहुने मन्त्रीहरुमा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा (एमाले) बाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद (डिपी) अर्यालले विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।

बाँकी मन्त्री र जिम्मवारीबारेमा टुङ्गो लगाउन सत्ता गठबन्धनबाट चार सदस्यीय कार्यदल निर्माण गरिएको छ । सो कार्यदलमा नेताहरु एमालेबाट विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र राजपा नेपालबाट उपेन्द्र यादव रहनुभएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १६:१३

लोकप्रिय