सूचनाको शक्ति - The Power Of Information

        

बन्यो चार दलिय गठबन्धन

सत्तामा उलटफेर, टुट्यो कांग्रेस-माओवादी गठबन्धन

माओवादी, एमाले, जसपा र रास्वपाका कम्तीमा १–१ जनाले आजै मन्त्रीको शपथ लिने तयारी छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेसहित चार दलबीच नयाँ गठबन्धन बनाउने सहमति भएसँगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट विमुख हुने भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले आफूलाई काम गर्न नदिएको भन्दै एमाले, रास्वपा, जसपासहितको नयाँ गठबन्धन बनाउने सहमति गरेका हुन् ।

राष्ट्रिय सभाको अध्यक्ष, कांग्रेस महासमिति बैठकमा पेश भएका दस्तावेज, टीआरसी लगायत विषय सतहमा देखिए पनि गठबन्धन टुट्नुको मुख्यकारण अर्थमन्त्री डा.प्रकाशशरण महत भएको विश्वस्त स्रोतले दाबी गर्यो । प्रधानमन्त्रीको चासो भएका कुनै पनि फाइल अगाडि नबढाउने, समानान्तर सत्ताको अभ्यास गर्ने काम अर्थमन्त्रीबाट हुन थालेपछि प्रचण्डले देउवासमक्ष पटक–पटक गुनासो गरेका थिए ।

तर, देउवा महतलाई हटाउन तयार नभएपछि प्रचण्डले एमाले अध्यक्षसँग सघन छलफल अघि बढाएको स्रोतको दाबी छ । ‘प्रधानमन्त्रीले अह्राएको काम नगर्ने, आफूखुसी गर्दै हिँड्ने र समानान्तर सत्ता चलाउन खोज्ने प्रवृत्ति अर्थमन्त्रीमा देखिएको थियो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । गत बिहीबार सार्वजनिक रूपमै पनि प्रचण्डले अर्थमन्त्रीप्रति गुनासो गरेका थिए ।

महतप्रति लक्षित गर्दै उनले भनेका थिए, ‘हामीले निर्धारण गरेको लक्ष्य धरातलीय यथार्थतासँग मेल खाएन । अझ पुँजीगत खर्च त २४ प्रतिशतभन्दा पनि कम भएको छ । पुँजी निर्माण नभई विकासले गति लिँदैन भन्ने सबैलाई थाहा छ ।’ उक्त कार्यक्रममा महतसमेत उपस्थित थिए ।

‘नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादम्यता नमिल्दा परिणाम आइरहेको छैन,’ प्रचण्डले महतकै अगाडि भनेका थिए, ‘मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचक अनुसार कार्य सम्पादन पूरा नगर्ने र राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रवृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन ।’

महतले आगामी बजेटमा प्रधानमन्त्रीले निर्देशन दिएका विषय समेट्ने छाँटकाँट समेत देखाएका थिएनन् । ‘बजेटको सिद्धान्तमै कुरा मिलिरहेको थिएन,’ स्रोतको भनाइ छ, ‘अन्य विषयमा गठबन्धनमा सामान्य खटपट हुने भएता पनि देशकै समृद्धिको विषयमा अर्थमन्त्री बाधक बन्दा गठबन्धन नै भत्किने अवस्था आयो ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आइतबार पार्टी संसदीय दलको बैठकमा अर्थमन्त्रीकै कारण कांग्रेस–माओवादी गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेका थिए । उक्त बैठकमा ओलीले कांग्रेस र अर्थमन्त्री महतको आलोचनामै समय खर्चिएको बैठकमा सहभागी एक सांसदले बताए ।

प्रधानमन्त्री प्रचण्डले पनि निकटस्थहरूसँग मुख्य समस्या अर्थमन्त्रीकै कारण आएको ब्रिफिङ गरेका छन् । आफूलाई काम गर्न अप्ठ्यारो भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग कांग्रेसबाट जो भएपनि हुन्छ, अर्को अर्थमन्त्री चाहियो भन्ने गरेका थिए । तर, देउवाले कुरै नसुनेपछि प्रचण्ड गठबन्धन बदल्ने मनस्थितिमा पुगेको स्रोतको दाबी छ ।

‘अर्थमन्त्री चेन्ज गर्न कांग्रेस सभापति देउवा तयार नभएपछि प्रधानमन्त्रीले नयाँ ढंगबाट सोच्नुभएको हो,’ बालुवाटार स्रोतको दाबी छ । २०७९ को पुस १० मा एमाले–माओवादी गठबन्धन बन्नुको पृष्ठभूमिमा पनि महत नै थिए । महतसहितका नेताले कुनै पनि हालतमा प्रचण्डलाई प्रधानमन्त्री दिनुहुँदैन भनेर देउवालाई उक्साएको आरोप थियो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टी बैठकमै नेताहरूको भूमिकाप्रति असन्तुष्टि जनाउँदै माओवादीलाई गठबन्धनमा फिर्ता ल्याउन आफूले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए । यसपटक पनि सोमबार बिहान सिटौलासहित भएर खड्का बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले उनीहरूलाई धेरै ढिला भइसक्यो भनेर फिर्ता पठाएको स्रोतको दाबी छ ।

माओवादी, एमाले, जसपा र रास्वपाका कम्तीमा १–१ जनाले आजै मन्त्रीको शपथ लिने तयारी छ । विकसित घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक समेत बसिरहेको छ । एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ । चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:०६

लोकप्रिय