सूचनाको शक्ति - The Power Of Information

        

आइतबार राति १२ बजेदेखि दुई राज्यमन्त्रीको पद रिक्त हुँदै

वर्तमान सरकारका दुई जना राज्यमन्त्रीको पद रिक्त हुँदैछ । आइतबार राति १२ बजेदेखि भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई र शिक्षा राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो ।

नेकपा एकीकृत समाजवादीकी चपाई र जनता समाजवादी पार्टीकी प्रमीला आइतबार राती १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदाइ हुँदैछन् । मन्त्री हुनका लागि संघीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो ।

नेपालको संविधानको धारा ७७ मा संघीय संसद्को सदस्य नभएको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने सम्बन्धी व्यवस्था गरिएको छ । जसमा सांसद पद नरहेकोको अवस्थामा मन्त्री पद रिक्त हुने व्यवस्था रहेको छ ।

यस्तै धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ । संविधानको धारा ७६ को उपधारा ९ मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्नेछ’ भन्ने प्रावधान भए पनि धारा ७८ को उपधारा १ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

सो धाराको उपधारा २ र ३ अनुसार मन्त्रीमा नियुक्त व्यक्ति ६ महिनाभित्र संघीय संसद्को सदस्य हुन नसकेमा सो व्यक्ति पुन मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था रहेको छ ।

बिदाइ हुन लागेका दुई राज्यमन्त्रीलाई प्रधानमन्त्रीले पुनः सोही पदमा राख्न चाहे राष्ट्रपतिलाई सिफारिस गरेमा ६ महिनासम्म राज्यमन्त्री बन्न सक्छन् । यदि यसो गरिएमा उनीहरूले पुनः शपथ लिनुपर्ने हुन्छ । यद्यपि यसबारेमा अहिलेसम्म कुनै निर्णय नभएको राज्यमन्त्री चपाइले रातोपाटीलाई बताइन् ।

२०८० साल वैशाख ३ गते चपाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् भने २०८० साल जेठ ९ गते प्रमीला शिक्षा राज्यमन्त्रीमा नियुक्त भएकी थिइन ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार १७:४६

लोकप्रिय