सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनहरु भोलि बिहान पेश हुने

नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए ।

बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने मुख्य सचिव पौडेलले उदघाटन सत्रमा जानकारी गराए ।

पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेश हुने भनिए पनि मंगलबार चारवटा पेश हुने भएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नेछन् ।

लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेश गरिने समयबारे मुख्य सचिव पौडेलले जानकारी गराएनन् । महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा विवाद कायम रहेकाले तयार भइसकेको छैन ।

सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सोमबार बिहान भएको छलफलले पनि सहमति पहिल्याउन सकेको थिएन । उदघाटन सत्रपछि फेरिछलफल गर्ने गरी बिहानको बैठक सकिएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १६:३९

लोकप्रिय