सूचनाको शक्ति - The Power Of Information

        

प्रेस युनियनले किन बहिष्कार गर्याे कांग्रेस महासमिति बैठक ?

सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महाधिवेशनमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले संस्थागत सहभागिता जनाउन अस्वीकार गरेको छ ।

सोमबार दिउसो युनियनका अध्यक्ष शिव लम्सालले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विधानको अपब्याख्या गरी प्रतिनिधि चयनको निर्णय गरेको भन्दै संस्थागत सहभागिता नजनाउने निर्णय गरेको हो ।

‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्य समिति चयन भई नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत प्रर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएको निर्णयप्रति युनियनको गम्भीर आपत्ति छ ।

लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अप व्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई विथोल्न चाहनेहरुलाई बल पुगेको छ,’अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति घोर भर्त्सना गर्दै यथास्थितिमा महासमिति बैठकमा युनियनको संस्थागत उपस्थिति नहुने युनियनको विज्ञप्तिमा उल्लेख छ ।

साथै अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न पनि युनियनले आह्वान गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १५:४९

लोकप्रिय