सूचनाको शक्ति - The Power Of Information

        

कृषिबाट श्रम पलायन, दौँतरी शहर पस्दा गोठ रुँग्ने एक्लिए

शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ ।

गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उनको नियमित दैनिकी हो । जीवनको अधिकाश समय गोठमा बताएका उनको भैँसीगोठमा अहिले नौवटा भैँसी छन् । उनले परम्परागत रूपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आएका छन् । बर्खायाममा लेकाली बुकीहरूमा पुर्याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ ।

घुम्ती गोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरु लगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन् । गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राखेका किसान तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने भैँसी छन् । ‘म सानैदेखि गोठमै हुर्किएको हुँ, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो, हुन त देश–विदेश पनि घुमेँ, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ,’ उनले भने ।

रोजगारीका लागि कोरिया गए पनि छ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उनको भनाइ छ । गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्ने गरी खच्चड व्यवसाय सुरु गरेका तुलाचनले दुई महिनामै आफ्नो पुर्ख्यौली पेसा घुम्तीगोठमा पशुपालन सुरु गरेको विगत स्मरण गरे । परिवारमा ६ दाजुभाइ रहे पनि अन्यले काठमाडौँ, बुटवल, थाकखोला लगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुर्ख्यौली घुम्तीगोठलाई निरन्तरता दिएको उनको भनाइ छ ।

करिब १५ वर्षसम्म भेडाबाख्रापालन गरेका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आएका छन् । २०–२५ वटासम्म भैँसी पाल्ने गरेका उनले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको सङ्ख्या घटाउँदै लगेको जानकारी दिए । गोठबाट दूध दिने भैँसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उनले बताए ।

बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्तीगोठमा रमाएका छन् । ‘मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ, बजारतिर त रोग पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु,’ उनले भने ।

घुम्तीगोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उनले बताए । ‘एक ठाउँमा गोठ बनाउन, तीन–चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्तीगोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने,’ उनले दुखेसो पोखे । गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन् ।

बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन । गोठ बस्ने दौँतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उनी गुनासो गर्छन् । तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताए । उनले गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको जानकारी दिए ।

स्रोत : रासस
प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १०:३२