सूचनाको शक्ति - The Power Of Information

        

समुदायमा कांग्रेस अभियान: नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर

समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नेपाल टे«ड युनियन कांग्रेस बाँके र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सहकार्य तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा नरैनापुर ३ मा सो शिविर सञ्चालन गरिएको हो ।

सो शिविरको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु बरालले गर्नुभयो । उहाँले समुदायमा कांग्रेस अभियानले पार्टीलाई जनताको घरघरमा पुग्न सहयोग गर्नुका साथै जनतालाई पार्टीसँग जोड्ने बताउनुभयो । यो अभियानले समुदायलाई नेपाली कांग्रेससँग प्रत्यक्ष जोडेर पार्टीको जनाधार बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा नेपाली कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन यो अभियान निकै प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रम संयोजक यमबहादुर खड्काले दिनुभएको जानकारी अनुसार शिविरमा मेडिसिन विभागका डा. सन्तोष भगत र डा. चेतन न्यौपाने, छाला तथा यौन रोग विभागका डा. रमेश शर्मा पौडेल र डा. नुपेन्द्र शिशिर लगायतले बिरामीको स्वास्थ्य जाँच गर्नुभयो ।

सो स्वास्थ्य शिविरमा सतगुरु मेडिसिन डिष्ट्रिब्यूटर्स, सिर्जना मेडिसिन डिष्ट्रिब्यूटर्स र लक्ष्मी सरस्वती पोलिक्लिनिक नेपालगन्जले निःशुल्क औषधी सहयोग गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, जिल्ला सचिव सुधान्सु कोईराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्रीय सभापति पोषणराज केसी, पार्टीका महासमिति सदस्य कृष्णचन्द्र मौर्य, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि यमबहादुर खड्का, महाधिवेशन प्रतिनिधि लक्ष्मणराज पौडेल लगायत ठुलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका अधिकांश सर्वसाधारणले दुर्गममा रहेको यस क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार प्रदान गरेकोमा खुशी व्यक्त गरेका थिए । स्थानीय नरेश खटिकले स्वास्थ्य उपचारका लागि निकै पछाडी परेको नरैनापुरमा यस्ता स्वास्थ्य शिविरहरु उपचारको राम्रो माध्यम बन्दै गएको बताउनुभयो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १४:३६

लोकप्रिय