सूचनाको शक्ति - The Power Of Information

        

संसद्को हिउँदे अधिवेशन

भाेलिदेखि संसद्को हिउँदे अधिवेशन : कुन दलको तयारी के छ ?

कांग्रेसको प्राथमिकतामा विधेयक 

 सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। संसद्को हिउँदे अधिवेशन सुरु हुने पूर्वसन्ध्यामा दलले आ–आफ्नो तयारी पनि गरिरहेका छन्।

केही दलले संसदीय दलको बैठक सम्पन्न गरिसके भने केहीको संसदीय दल बैठक चलिरहेको छ। अधिवेशनमा गर्ने काम, दलको तर्फबाट प्रस्तुत गर्ने विषय तथा सांसदले राख्ने विषयको सम्बन्धमा दलले तयारी गरिराखेका छन्।

सुशासनको मुद्दा उठाउने एमालेको तयारी  

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले संसद् अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ। सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरूले पहिलो मुद्दा बनाउने बताउनुभयो। उहाँले देशको विकास, सुशासन र समृद्धिको सवालमा एमालेले निरन्तर रूपमा सशक्त ढङ्गले आवाज उठाउने बताउनुभयो।

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसद्ले कानुन बनाउने काम पाउनुपर्नेमा आफूहरू सचेत रहेको बताउनुभयो। उहाँले विगतमा सरकारले संसद्लाई भूमिकाविहीन बनाएको भन्दै आगामी दिनमा पनि त्यसो गरिए सशक्त प्रतिवाद गरिने चेतावनी दिनुभयो।

कांग्रेसको प्राथमिकतामा विधेयक 

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीले यस अधिवेशनको प्रारम्भमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले आगामी विधेयक महत्त्वको आधारमा ल्याउने बताउनुभयो। सरकारले कति विधेयक ल्याउन सक्छ, त्यसमा पनि पार्टीभित्र लेखाजोखा हुने उहाँको भनाइ छ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी अधिवेशनमा कानुन निर्माणको कामलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धी धेरै ऐन, कानुन अझै नबनेका भन्दै ती कानुन बनाउन ध्यान दिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘अबको संसद्को मुख्य भूमिका भनेको कानुन निर्माणको कामलाई विशेष प्राथमिकताको सूचीमा राख्नु हो। हामीले अघिल्लो संसदमा जति कानुन पारित गर्नुपर्थ्यो त्यो गर्न सकेनौँ। कतिपय विधेयक समितिमा छलफलका क्रममा छन्। ती कानुन हामीले संसदबाट पारित गर्नुपर्छ।’’

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरिरहेको बताउनुभयो। उहाँले कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गरिने बताउनुभयो।

आगामी अधिवेशनमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारीसँग सम्बन्धित विधेयकलाई गतिका साथ अगाडि बढाइने बताउनुभयो। आगामी आर्थिक वर्षका लागि बजेटलाई नयाँ तरिकाले लैजानका लागि पनि छलफल केन्द्रित गर्ने उहाँको भनाइ छ।

संसदमा जनताका समस्यालाई उठाउने र सरकारले गरेका सकारात्मक कामको चर्चा गर्ने उहाँले बताउनुभयो। त्यस्तै, मन्त्रीलाई सरकारको कामका बारेमा संसदमा आएर जानकारी दिन लगाउने उहाँले जानकारी दिनुभयो।

प्रकाशित मिति : २१ माघ २०८०, आइतवार १९:१५

लोकप्रिय