सूचनाको शक्ति - The Power Of Information

        

माओवादी सुदूरपश्चिम संसदीय दलका नेता परिवर्तन गरिएपछि पार्टीभित्र तरंग

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हटाएको विषयले पार्टीभित्र तरंग उत्पन्न भएको छ । माओवादी केन्द्र सुदुरपश्चिमले शुक्रबार दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई चयन गरेको थियो । दलको नेता बनाउँदा प्रदेशसभाका ६ जना सदस्यले निर्णय गरेका थिए ।

माओवादी प्रदेश समितिले तत्काल उक्त निर्णय सच्चाउन संसदीय दललाई निर्देशन दिएको छ । धनगढीमा बसेको उपलब्ध पदाधिकारीको बैठकले पार्टीको विधि विपरीत र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्चाउन निर्देशन दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई पदाधिकारी बैठकले गरेको निर्णयसमेत परिपत्र गरिएको छ । प्रदेश अध्यक्ष र हरिराम चौधरी उत्सव र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सुदूरपश्चिमा माओवादीको ११ जना प्रदेशसभा सदस्य रहका छन् । जसमा एक जना सभामुख छन् । मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् । बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकीदेवी कुँवर भने उपस्थित भएनन् । अहिले उक्त निर्णयले माओवादीभित्र तीव्र विवाद उत्पन्न भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार ०९:५३