सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा निर्वाचन : कोशीमा हारबाट जोगिए सिटौला, रुक्मिणीले जोगाइन एमालेको ‘साख’

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला हारको ह्याट्रिकबाट जोगिएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणनामा उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभाको यात्रा सुरक्षित गरेका हुन् ।

तर, निर्वाचनको मतगणना रोचक बन्यो । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाए । अर्थात् गठबन्धनबाट पाउनुपर्ने मत उनले पाएका थिएनन् । तर, स्थानीय तहतर्फ भने उनले सोचेअनुसार मत पाएपछि सकारात्मक नतिजा प्राप्त भयो । स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए ।

यस्तै एमालेका पर्शुराम अधिकारीले ५ जनाको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाए पनि अधिकारीले प्रदेशतर्फ १ मत पाएका थिए । नतिजाअनुसार विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे ।

यता कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै राष्ट्रियसभा निर्वाचनमा एमालेको ‘साख’ जोगाउन सफल भएकी हुन् ।

एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् । कोशीमा सत्ता गठबन्धन भन्दा एमाले–राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १८:१२

लोकप्रिय