सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा निर्वाचन : कहाँ कति खस्यो मत ?

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १९ पदका निम्ति बिहीबार मतदान सकिएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो ।

निर्वाचनअन्तर्गत कोसी प्रदेशका दुई मतदाता मतदानमा अनुपस्थित रहे । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित भएका हुन् ।

साम्पाङले कार्यव्यस्तताका कारण मतदान गर्न आउन नसकेको बताए । गच्छदार मुटुसम्बन्धी बिरामी भई विराटनगरस्थित अस्पतालमा भर्ना भएका छन् ।

झापाको झापा गाउँपालिकाका प्रमुख जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण निर्वाचन आयोगले उनको नाम मतदाता नामावलीबाट हटाएको थियो ।

मतदानमा कोसी प्रदेशमा १३७ स्थानीय तहका प्रमुख/उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए ।

मधेस प्रदेशमा ३७४ मतदातामध्ये ३७३ जनाले मतदान गरे । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीका अनुसार, प्रदेशसभाका १०७ सदस्यमध्ये १०६ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षतर्फ २६७ जनाले नै मतदान गरे ।

वाग्मती प्रदेशमा पाँच मतदाता अनुपस्थित भए । निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार, स्थानीय तहतर्फ तीन र प्रदेशसभा सदस्यतर्फ दुईजनाले भोट खसालेनन् ।

उनका अनुसार, मतदानको समयावधिभित्र प्रदेशसभाका ११० मध्ये १०८ जनाले मात्र भोट खसाले । स्थानीय तहतर्फ २३७ मध्ये २३४ जनाले मतदान गरे ।

गण्डकी प्रदेशमा कुल २३० मतदातामध्ये २२९ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ सबै ६० जनाले मतदान गरे । स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षतर्फ १७० मतदातामध्ये एकजना अनुपस्थित रहे ।

इमेज सहकारी प्रकरणमा फरार सूचीमा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा कुल ३०५ मतदाता रहेकोमा ३०३ मत खस्यो । प्रदेशसभा सदस्यतर्फका सबै ८७ मत खस्यो । स्थानीय तहका २१८ मध्ये २१६ जनाले मात्र निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

कर्णाली प्रदेशमा शतप्रतिशत मत खसेको छ । सहायक निर्वाचन अधिकृत उज्वल रावलका अनुसार, प्रदेशसभा सदस्य सबै ४० र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख १५६ गरी कुल १९६ मतदाताले मतदान गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा तीन मतदाता अनुपस्थित रहे । स्थानीय तहका जनप्रतिनिधितर्फ तीनजना अनुपस्थित रहेका निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशसभाका ५२ र स्थानीय तहतर्फ गाउँपलिकाका अध्यक्ष/ उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख मतदाता १७६ थिए । प्रदेशसभा सदस्यतर्फ सबै ५२ र स्थानीय तहका जनप्रतिनिधितर्फ १७३ मत खसेको उनले जानकारी दिए ।

कोसीमा दुई, मधेसमा दुई, वाग्मतीमा चार पदका निम्ति निर्वाचन भएको हो । गण्डकीमा तीन, लुम्बिनीमा दुई, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका निम्ति चुनाव भएको आयोगले जनाएको छ ।

आउँदो फागुन २० गतेदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये एक पदमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ । १९ जना निर्वाचनबाट चुनिनेछन् ।

निर्वाचनको मत परिणाम आजै साँझ सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १६:२६

लोकप्रिय