पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि रोकिएको छ । अन्तिम अवस्थामा पुगेर कांग्रेसका कारण मन्त्री हेरफेर रोकिएको हो । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्रीहरू सेटै फेर्ने तयारीमा थिए । कांग्रेसकै जोडमा प्रधानमन्त्री पनि मन्त्रीहरू फेर्न तयार भएका हुन् ।
तर, अन्तिममा देउवाकै कारण तत्काल मन्त्रीहरू नफेरिने भएका छन् । वर्तमान सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूमा संस्थापन पक्षका धेरै छन् । तर, अहिलेकै अवस्थामा हेरफेर गर्दा संस्थापन इतर हाबी हुने बुझेपछि देउवाले तत्कालका लागि मन्त्री हेरफेर रोकेका हुन् । कांग्रेस महामन्त्री गगन थापा सरकारमा सहभागी हुने आन्तरिक तयारीमा रहेका छन् ।
उनले कांग्रेसको भागमा परेको शक्तिशाली मन्त्रालयमध्ये एक हात पार्ने गरी तयारी गरिरहेका छन् । अहिलेकै अवस्था हेर्दा उनले अर्थ ताकेका हुन् । सभापति देउवा मात्र नभएर पार्टीका अधिकांश नेता अर्थमन्त्री फेर्नुपर्ने पक्षमा छन् । संस्थापन समूहका डा. प्रकाशशरण महत हाल अर्थमन्त्री छन् । यदि, अहिलेकै अवस्थामा सरकारले मन्त्री फेर्ने अवस्था आउँदा गगनले सिधै सोही मन्त्रालय ताक्ने छन् ।
सभापति देउवाले मन्त्री फेर्ने सन्दर्भमा महतको ठाउँमा ल्याउन सकिने पात्र आफ्नै समूहभित्र नखोजेका होइनन् । तर, रिजल्ट दिन सक्ने पात्र नभेटेका कारण देउवा पछि सरेका हुन् । मन्त्रीहरू सेटै फेर्ने बहानामा कांग्रेसले अर्थ र गृह मन्त्रालय साट्न चाहेको थियो । अहिले माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन् ।
गृहमन्त्री श्रेष्ठ फरक पार्टीका भएका कारण आफ्ना नेताहरू असुरक्षित रहेको बुझाइका साथ कांग्रेसले गृह लिन खोजेको थियो । अहिलेकै अवस्थामा मन्त्री फेर्दा र गृह मन्त्रालय इतर समूहको हातमा पुग्दा आफ्नो समूहमा क्षति पुग्न सक्ने समेत सभापति देउवा र संस्थापन समूहले विश्लेषण गरेको छ ।
गगन गृहमन्त्री हुने अवस्थामा नारायणकाजीबाट भन्दा पनि धेरै खतरा हुनसक्ने उनीहरूको बुझाइ रहेको छ । कांग्रेसमा पछिल्लो समय नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाको नेतृत्वमा संस्थान इतर समूहको रुपमा पार्टीभित्र हस्तक्षेप बढाइरहेका छन् । हरेक ठाउँमा भागबन्डा खोज्दै आएको यो समूहले वर्तमान सरकारविरुद्ध सार्वजनिक रुपमा बोल्दै आएका छन् ।
मन्त्री हेरफेर गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका मन्त्रीहरूलाई अन्तिम समय रहेको भन्दै नीतिगत कामहरू सम्पन्न गर्न निर्देशन दिइसकेका छन् । सोही अनुसार माओवादी मन्त्रीहरू नीतिगत काममा केन्द्रित भएका छन् । सबै दल मन्त्री फेर्ने मनस्थितिमा पुगेका हुन् । तर, कुनै एक दलले कुनै एक पात्रलाई मात्र फेर्दा पार्टीभित्र नकारात्मक सन्देश जाने डर सबैमा छ ।
त्यसकारण सबै दलले सेटै मन्त्री फेर्ने योजना बनाएका थिए । महत्त्वपूर्ण मन्त्रालयहरूको नेतृत्व सम्हाले पनि कांग्रेसका मन्त्रीहरूले उल्लेख्य काम गर्न सकेका छैनन् । कांग्रेसले अर्थ, रक्षा, कानुन, स्वास्थ्य, परराष्ट्र, सहरी विकास, उद्योग वाणिज्यजस्ता महत्त्वपूर्ण मन्त्रालयहरूको नेतृत्व गरिरहेको छ । तर, कांग्रेस नेतृत्वको यी कुनै पनि मन्त्रालयले उल्लेख्य काम गर्न सकेका छैनन् । त्यसैले कांग्रेसले मन्त्री फेर्न खोजेको हो ।
प्रधानमन्त्रीको पार्टी माओवादीले पनि मन्त्री फेर्न चाहेको छ । मुख्य गरी, प्रधानमन्त्री र गठबन्धन दलहरूसँगको टसलका कारण माओवादीले गृहमन्त्री श्रेष्ठलाई फेर्न खोजेको छ । तर, श्रेष्ठ एक्लैलाई मात्र फेर्दा राम्रो सन्देश नजाने भएपछि प्रधानमन्त्री प्रचण्डले पनि माओवादीबाट सहभागी सबै मन्त्री फेर्ने योजना बनाएका थिए । माओवादीले प्रधानमन्त्रीसहित गृह, सञ्चार, ऊर्जा र पर्यटन मन्त्रालयको नेतृत्व गरिरहेको छ ।
एकीकृत समाजवादीले पनि मन्त्री फेर्ने तयारी गरेको छ । शिक्षा, भौतिक योजना र कृषि जस्ता मन्त्रालय पाए पनि एक वर्षको अवधिमा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीबाट उल्लेख्य काम भएको छैन । मन्त्रीहरूले अपेक्षाकृत काम गर्न नसकेको विषय स्पष्टै देखिको छ । प्रधानमन्त्री प्रचण्डले पनि बारम्बार मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न गर्दै आएका छन् । त्यसैले सबै दलले कुनै न कुनै बाध्यतामा रहेर सबै मन्त्री हेरफेर गर्न चाहेका थिए । तर, कांग्रेस सभापति देउवाका कारण केही समय मन्त्री हेरफेर रोकिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं