सूचनाको शक्ति - The Power Of Information

        

सिटौला र भुसालमा को बन्ला राष्ट्रियसभा अध्यक्ष ?

माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । कांग्रेसका वरिष्ठ नेता कृष्ण सिटौला गठबन्धनको उम्मेदवारका रुपमा कोशीबाट प्रतिस्पर्धामा छन् । राष्ट्रियसभाको अध्यक्ष बनाउने योजनासहित कांग्रेसले उम्मेदवार बनाएको हो । गठबन्धनको मतभार हेर्दा सिटौला निर्वाचित हुने निश्चित जस्तै छ ।

तर, राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी भने अहिलेसम्म निश्चित भइसकेको छैन । किनकि, एकीकृत समाजवादीले पनि राष्ट्रियसभा अध्यक्ष दाबी गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई व्यवस्थापन गर्न राष्ट्रियसभाको अध्यक्ष बनाउन चाहेका हुन् । तर, संवैधानिक परिषद्को शक्ति सन्तुलन लगायत विषय उठाएर एकीकृत समाजवादीले अध्यक्ष दाबी गरेको हो ।

अहिले संवैधानिक परिषदमा एकीकृत समाजवादीको प्रतिनिधित्व छैन । ६ सदस्यीय परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना (कार्यकाल सकिएको), प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर सदस्य छन् ।

हाल राष्ट्रियसभाको अध्यक्ष रहेका तिम्सिना पदावधि सकिएर बिदा हुँदै छन् । राष्ट्रियसभाका अध्यक्ष तिम्सिना पदमा रहँदासम्म संवैधानिक परिषदमा एमालेका ३, माओवादी र रास्वपाको १–१ सदस्य छन् । यसकारण एकीकृत समाजवादीले संवैधानिक परिषदमा भाग खोजेको हो । एकीकृत समाजवादीले सार्वजनिक रुपमा यस विषयमा बोलेको छैन । तर, गठबन्धन दलभित्र आन्तरिक रुपमा एकीकृत समाजवादीले राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने माग गर्दै आएको छ ।

एकीकृत समाजवादीका एक नेताले भने, ‘यस विषयमा औपचारिक रुपमा गठबन्धन बैठकमा दाबी गरिहाल्ने समय भएको छैन । तर, संवैधानिक परिषद्को अध्यक्षमा हाम्रो पनि दाबी छ । समय आएपछि गठबन्धनमा दाबी गर्छौ ।’ एकीकृत समाजवादीले राष्ट्रियसभाको अध्यक्ष पाएको खण्डमा बेदुराम भुसाललाई अघि सार्ने देखिएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष भुसाल अहिले कृषिमन्त्री छन् ।

राष्ट्रियसभाका सदस्यसमेत रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाएर राष्ट्रियसभाको अध्यक्ष बनाउने एकीकृत समाजवादीको आन्तरिक तयारी रहेको बुझिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन दलबिच भागबन्डा गर्दा एकीकृत समाजवादीले तीन सिट दाबी गरेको थियो । तर, दुई सिट मात्र पाएकाले रुष्ट छ । दलिय भागबन्डामा भने जति सिट नपाएर रुष्ट भएको एकीकृत समाजवादीलाई मनाउनुपर्ने बाध्यतामा छ, गठबन्धन । यस्तो अवस्थामा राष्ट्रियसभाको अध्यक्ष वा थप एक मन्त्री दिएर एकीकृत समाजवादीलाई मनाउनुपर्ने गठबन्धनको बाध्यता बनेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १४:५६

लोकप्रिय