पछिल्लो समय धरानमा रमाइलो छ । मेयर हर्क साम्पाङ र विपक्षीहरुविचको घोचपेचले सामाजिक सञ्जाल तातेको छ । बैठकहरूमा विपक्षीहरू एक जुट भएर साम्पाङको विपक्षमा खनिन्छन् । साम्पाङ एक्लै प्रतिवादमा उत्रेका छन् । बैठकमा सबैको साथ नपाए पनि सामाजिक सञ्जालमा भने उनी ‘हिट’ हुँदैछन् ।
फरक काम र बोलाइबाट चर्चामा आएका मेयर साम्पाङ आफूलाई अन्यसँगै तुलना नगर्न भन्छन् । धराने जनतालाई पानी खुवाएर चर्चामा आएका उनी आफू भौतिक विकास मात्र नभएर समाजको मनोविज्ञान परिवर्तन गर्न आएको दाबी गर्छन् ।
‘मैले सधैँ भन्ने गरेको तर अहिले सम्म कसैले नबुझेको ‘म आफ्नो कार्यकालमा भौतिक विकास गर्न मात्रै आएको व्यक्ति होइन !’ सामाजिक सञ्जालमा शुक्रवार उनले लेखेका छन्, ‘म यो समाजको राजनीतिक मनोविज्ञान परिवर्तन गर्दै नेता र राजनीतिको परिभाषा परिवर्तन गर्न आएको व्यक्ति हुँ ! मलाई अरू सङ्गै एउटै बास्केटमा राखेर नहेर्नु ! म आफैमा एउटा बहस र विद्रोह हुँ !’
‘म जागिर खान आएको फगत एउटा मेयर मात्र हैन,’ हर्क भन्छन्, ‘मैले विकाशको एउटा सुन्दर सपना देखेको छु, त्यो पुरा गर्न लागिपरेको छु ।’ उनको भनाइप्रति पाठकहरूको विभिन्न प्रतिक्रिया आएका छन् । कसैले उनलाई बढी मपाईँत्व भएको टिप्पणी गरेका छन् त कतिपयले उदाहरणीय नेता भन्दै तारिफ गरेका छन् ।
‘अरूले भन्ने कुरा पनि आफै भनिदिने मेयर साव,’ सामाजिक सञ्जालमा दीपक न्यौपानेले उनको टिप्पणीमाथि प्रतिक्रिया दिएका छन्, ‘यो चाहिँ अलि बढी भयो कि ।’ कतिपयले भने विकाशको काममा निर्धक्क भएर अगाडी बढ्न आग्रह गरेका छन् । ‘तपाईँको काम गर्ने र बोल्ने शैलीका कारण तपाईँप्रति मानिसको विश्वास बढेको छ,’ नवीन रिमाल लेख्छन्, ‘तपाईँ अगाडि बढ्नुस् धराने जनताले साथ दिने छन् ।’
जसले जे भने पनि उनी आफ्नो बाटोमा आफ्नै सुरमा अगाडि बढेका छन् । उनले आफू न्यायको बाटोमा लडिरहेको बताउँदै कसैले साथ दिए पनि नदिए पनि अगाडी बढ्ने बताउँछन् । ‘यो न्यायको लडाइँमा कसैले साथ दियोस् नदियोस्, म एक्लै भए पनि लड्छु,’ उनी भन्छन्, ‘हिजो पनि एक्लै लडेको हुँ, आज पनि एक्लै लड्न तयार छु ।’
विभेद बेथिति र अत्याचारविरुद्ध आफू एक्लै काफी भन्दै सबैले घेरवन्दी गरेपनि आफू एक्लै लड्न तयार भएको साम्पाङ बताउँछन् । ‘म परिवर्तन हुन्न,’ उनी भन्छन्, ‘म परिवर्तन ल्याउने छु ।’ प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाउनुको कारण पनि धरानको माया रहेको उनले बताए । ‘धरानलाई किन हेला गरेको त,’ तस्वीर हटाएको बारेमा उनले भने, ‘धरानलाई केन्द्रले वास्ता नगरेकाले केन्द्रका तस्वीर हटायौँ ।’
आफू फगत एउटा मेयर मात्र नभएको बताउँदै उनले बहस छेड्न आएको अभियन्ता भएको बताउँछन् । ‘म जागिर खान आएको फगत एउटा मेयर मात्र हैन,’ उनी भन्छन्, ‘मैले विकाशको एउटा सुन्दर सपना देखेको छु, त्यो पुरा गर्न लागिपरेको छु ।’
